काठमाडौं- नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा पुन: निर्वाचित भएका छन्। मंगलबार राति सम्पन्न निर्वाचनमा देउवा ९०७ मतको अग्रताका साथ विजयी भएका हुन्। देउवाले सभापतिका अर्का उम्मेदवार शेखर कोइरालालाई पराजित गरेका छन्।
कूल ४५ सय ७४ मतगणना गर्दा देउवाले २७ सय २४ मत ल्याए भने शेखरले १८ सय १७ मत प्राप्त गरे। ३३ मत बदर भएको छ।
१४ औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा पहिलो चरणमा सभापतिका पाँच जना उम्मेदवार मध्ये कसैले पनि ५० प्रतिशत भन्दा बढी मत नपाएपछि मंगलबार दोस्रो चरणमा निर्वाचन भएको हो।
दोस्रो चरणको प्रतिस्पर्धामा विजयी हुँदै देउवाले दोस्रो पटक निर्वाचित सभापतिको रुपमा चार वर्ष पार्टीको नेतृत्व गर्ने अवसर पाएका छन्।
सोमबार सम्पन्न निर्वाचनमा देउवा, कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङबीच सभापतिमा प्रतिस्पर्धा भएको थियो। देउवा र कोइरालाले बढी मत पाएपछि दुई जना दोस्रो चरणको चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।
को हुन् देउवा?
२००३ सालमा डडेलधुरामा जन्मिएका देउवा विद्यार्थी कालदेखि कांग्रेसको राजनीतिमा सक्रिय भएर लागेका थिए। नेपाल विद्यार्थी संघको (दोश्रो) महाधिवेशनबाट अध्यक्ष चयन भएका देउवा २०४६ सालपछिका तीनवटै संसदीय निर्वाचन र दोश्रो जनआन्दोलनपछिका दुईवटै संविधानसभा चुनावमा लगातार विजयी हुँदै आएका छन्। देउवा गृहमन्त्री हुँदै २०५२ सालमा पहिलो पटक प्रधामन्त्री बनेका थिए।
२०५२ सालमा एमाले नेता मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि उनी पहिलोपटक प्रधानमन्त्री बनेका थिए। देउवा पाँचौं पटक देशको प्रधानमन्त्री बनेका छन्। पछिल्लो पटक उनी केपी शर्मा ओलीको बहिर्गमनपछि गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री बनेका हुन्।
गिरिजाप्रसाद कोइरालासँगको अन्तर्द्वन्द्वका कारण उनले २०५९ सालमा नेपाली कांग्रेससलाई फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेका थिए। २०६२/६३ सालको जनआन्दोलनपछि २०६४ सालमा देउवाको उक्त पार्टी फेरि नेपाली कांग्रेसमा एकीकृत भएको थियो।
त्यसपछि देउवाले पार्टीमा आफ्नो प्रभाव बढाउँदै लगे। कोइराला परिवारको बोलावाला रहेको कांग्रेसमा उनी लगातार दुई पटक विजयी हुँदै सभापति निर्वाचित भएका छन्।
देउवाले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका छन्। सन् १९८९ देखि १९९० सम्म उनी लन्डन स्कूल अफ इकनिमिक्समा राजनीतिशास्त्रको रिसर्च फेलो रहेका थिए।