काठमाडौं– नेपाली कांग्रेसको महामन्त्रीका उम्मेदवार गगन थापाले सभापतिमा शेरबहादुर देउवालाई समर्थन गरेका नेताहरूले किन उनलाई समर्थन गरे भनेर जवाफ दिनुपर्ने बताएंका छन्।
मंगलबार राति राष्ट्रिय सभागृहमा सभापतिका लागि भएको दोस्रो चरणको मतदान सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन्।
उनले भने, ‘नेतृत्व परिवर्तन नै एजेन्डा बनाएकाहरूले फेरि पुरानै नेतृत्वलाई साथ दिएपछि उनीहरूले पार्टी कार्यकर्ता तथा आम नागरिकलाई जवाफ दिनुपर्दैन? हिजो रातिसम्म नेतृत्व बदलेरै भनेर छाड्छु, नेतृत्व बदल्नुमात्रै सबै कुरा हो भन्नेले आज बदल्ने मौका आउँदै गर्दा चाहिँ नेतृत्व बदल्ने कुरा रोक्नका लागि म सबै कुरा गर्छु भन्ने मान्छेले जवाफ दिनु नपर्ने? यसको बारेमा पार्टीका साथीहरूलाई, देश र जनतालाई बताउनु नपर्ने?’
उनले तीन जनाले समर्थन गर्दा पनि देउवामा जित्छु भन्ने आत्मविश्वास नदेखिएको समेत टिप्पणी गरे। प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गरेका छन् ।
थापा शेखर कोइराला टिमबाट महामन्त्रीका उम्मेदवार हुन्।