काठमाडौं– कांग्रेस सभापति चयनका लागि दोस्रो चरणको मतदान भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा सुरु भएको छ। सोमबार भएको मतदानमा प्रतिस्पर्धामध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुन लागेको हो। सभापतिका पत्यासी प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले शेरबहादुर देउवालाई समथर्न गरिसकेका छन्। अब शेखर कोइराला र शेरबहादुर देउवाबीच प्रतिस्पर्धा हुन लागेको हो।
सोमबार बिहान घोषित मत परिणामअनुसार देउवाले सबैभन्दा बढी २२५८ मत ल्याएका छन्। उनले ८३ मत पुर्याउन नसक्दा निर्वाचन हुन लागेको हो। निर्वाचनमा कुल ४६७९ मत खसेको थियो।
अर्का प्रतिस्पर्धा शेखर कोइरालाले १७२९ मत पाएका छन्। यसैगरी प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत पाए। यी तीनैजनाको मत जोड्दा ६४३ मत हुन्छ। जितका लागि देउवालाई ८२ मत र कोइरालालाई करिब ६ सय मत चाहिन्छ। अब देउवा र कोइरालाबीच पुनः प्रतिस्पर्धा हुनेछ।
सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पार्टीको विधानअनुसार सभापति पदका लागि पुनःनिर्वाचन हुन लागेको हो । कांग्रेस केन्द्रीय निर्वाचन समितिले सभापति पदका प्रत्यासीमध्ये कसैको पनि कुल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि अपरान्ह ३ः३० देखि साँझ ७ः३० बजेसम्म पुनः मतदान गर्ने तयारी गरेको समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।
मतदानस्थलमा पुगेर सभापतिका उम्मेदवार प्रधानमन्त्री देउवाले मतदान गरेका छन्। सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदानमा कूल ७६ मत बदर भएको थियो। कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ।
पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जना बीच पुनः मतदान हुन्छ। विधानअनुसार, पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ।