काठमाडौं– प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसदीय विधि र प्रक्रियाभित्र रहेर आफ्ना असहमति राख्न प्रमुख प्रतिपक्षी दल एमालेलाई आग्रह गरेका छन्।
संघीय प्रतिनिधिसभाको १०औँ अधिवेशनको पहिलो बैठकमा मंगलबार नाराबाजीसहित बेल घेराउ गरिरहेका सो दलका सांसद्लाई सभाको नियमावलीतर्फ ध्यानाकर्षण गराउँदै सभामुख सापकोटाले संसदीय व्यवस्था सिद्धान्त मात्र नभएर समन्वयात्मक अभ्यास पनि भएकाले परिस्थिति र अवस्था सधैं नहुने हुँदा सरकारलाई काम गर्न दिन र संसद् सञ्चालनमा सघाउन सांसद्हरुको ध्यानाकर्षण गराए। उनले जनप्रतिनिधिहरुको सर्वोच्च निकाय संसद् आफ्नो नियम र विधि पालनामा बढी सचेत हुनुपर्ने भएकाले प्रक्रियाभित्र रहेर असहमति राख्न आग्रह गरे।
सभामुखले बैठक सञ्चालनका लागि प्रतिनिधिसभा नियमावली, २०७५को नियम ६ को उपनियम २ बमोजिम पटक पटक आग्रह गर्दै सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसद्मा छलफल गर्न नपाइएको संवैधानिक व्यवस्थाबारे पनि ध्यानाकर्षण गराएका छन्।