काठमाडौं- नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पहिलो चरणमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले दोस्रो चरणमा पुगेका उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गर्ने निर्णय गरेको बताएका छन्। मंगलबार विज्ञप्ति जारी गर्दै निधिले यस्तो बताएका हुन्।
मंगलबार बिहान निधि निवासमा पुगेर देउवाले आफूलाई सहयोग गर्न आग्रह गरेपछि निधिले विज्ञप्ति जारी गर्दै देउवालाई समर्थन गरेका थिए।
'प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान टेलिफोन गरेर र मेरो निवासमा आएर आफूलाई समर्थन गर्नका लागि गर्नु भएको आग्रहलाई स्वीकार गर्दै सभापति पदका लागि हुने दोस्रो चरणको मतदानमा उहाड्ढँलाई समर्थन गर्ने निर्णय गरेको छ,' उनले भने।
कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएपछि देउवाले राजनीतिक छलफललाई तीव्रता दिएका छन्। आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवारहरूले बहुमत नपाएपछि पुनः मतदान हुने भएको छ।
पहिलो चरणको मतदानमा शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाएपनि बुहमत पुर्याउन सकेनन्। कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन कम्तीमा ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ।
आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो। जसमा देउवाले २२५८ मत मात्र पाएका थिए। उनलाई सभापति निर्वाचित हुन ८२ मत कम परेको थियो। दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने देउवा र दोस्रो हुने डा शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ। कोइरालाले १७४९ मत ल्याएका छन्। निधिले २४९ मत ल्याएका थिए।