बिहीबार, वैशाख २०, २०८१

त्यसैले बलिया भए देउवा

पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुँदैछ।
 |  मंगलबार, मंसिर २८, २०७८

धीरज बस्नेत

धीरज बस्नेत

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं– पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुँदैछ। दोस्रो चरणको मतदानमा पहिलो चरणमा सबैभन्दा धेरै मत ल्याएका शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ।

triton college

प्रतिपर्धामा रहेका पाँच उम्मेदवारमध्ये पहिलो चरणको निर्वाचनबाट रिङआउट भएका तीन जना उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने निर्णय गरेका छन्। उनीहरुको निर्णयसँगै पहिलो चरणको निर्वाचनमा ८३ मतले पराजित भएका देउवा दोस्रो कार्यकालका लागि पनि सभापतिमा निर्वाचित हुने करिब निश्चित देखिएको छ।

पहिलो चरणमा ४ हजार ६ सय ८१ मत खसेकोमा देउवाले २२ सय ५८ मत पाएका थिए। उनका निकटतम प्रतिस्पर्धी शेखर कोइरालाले १७ सय ०२ मत पाए। प्रकाशमान सिंहले ३७१ र विमलेन्द्र निधिले २४९ मत पाए भने अर्का उम्मेदवार कल्याण गुरुङले २० मत पाएका थिए। 

पहिलो चरणमा २२ सय ५८ मत पाएका देउवाले सिंहको ३७१, निधिको २४९ र गुरुङको २० मत तलमाथि नभई थपिएको अवस्थामा २८ सय ९८ मत पाउने देखिन्छ। यो भनेको कुल मतदाताको ६० प्रतिशतभन्दा धेरै हो। सभापतिमा चयन हुन ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्छ। कांग्रेसमा करिब ४ हजार ८ सय महाधिवेशन प्रतिनिधि छन्।  

प्रतिपर्धामा रहेका पाँच उम्मेदवारमध्ये पहिलो चरणको निर्वाचनबाट रिङआउट भएका तीन जना उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने निर्णय गरेका छन्। 

त्यसो त १३ औं महाधिवेशनमा दोस्रो चरणमा भएको मत परिणाम हेर्ने हो भने पहिलो चरणको निर्वाचनपछि प्रतिस्पर्धाबाट बाहिरिएका उम्मेदवारले समर्थन गर्दैमा सबै मत आफू समर्थित उम्मेदवारलाई नै जान्छ भन्ने ग्यारेन्टी देखिँदैन। तैपनि पहिलो चरणमा देउवाले हासिल गरेको मतलाई आधार मान्ने हो भने जितका लागि देउवालाई अब ‘रिङआउट’ भएका प्रत्यासीमार्फत थोरैमात्र मत भए पुग्नेछ। त्यसैले उनी सहजै पुनः सभापति बन्ने सम्भावना बलियो देखिन्छ। 

corrent noodles
Metro Mart

सिंहको समर्थन देउवालाई

सभापतिका प्रत्यासी प्रकाशमान सिंहले दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई सघाउने प्रतिबद्धता जनाएका छन्। सिंहको साथ खोज्दै चाक्सीबारी पुगेका देउवाले पार्टीमा रहेका कमीकमजोरी सच्याउने प्रतिबद्धता जनाएपछि आफूले सघाउने निर्णय गरेको नेता सिंहले बताए।

महाधिवेशन प्रतिनिधिको भावना पनि देउवाले नै चुनाव जितून् भन्ने देखिएकाले आफूले आफ्नो टिमसँग सल्लाह गरेर देउवालाई समर्थन गरको सिंहको भनाइ छ। प्रधानमन्त्री शेरबहादुर देउवा सिंहलाई भेट्न चाक्सीबारी पुगेका थिए। सिंहका अनुसार देउवाले पार्टीमा परिवर्तन गर्नुपर्ने कुरामा सहमति जनाएका छन्। 

बिनासर्त निधिको समर्थन देउवालाई 

नेपाली कांग्रेसको सभापतिका उम्मेदवार देउवालाई अर्का उम्मेदवार विमलेन्द्र निधिले पनि सघाउने भएका छन्। मध्यबानेश्वरस्थित निधि निवासमा भएको भेटपछि निधिले देउवालाई सहयोगको बचन दिएका हुन्। निवासमा पुग्नुअघि देउवाले निधिलाई फोन गरेर सहयोगका लागि आग्रह गरेका थिए। ‘बिहानै फोन गर्नुभएको थियो सहयोगका लागि। म तपाईंप्रति सकारात्मक छु, साथीहरुसँग सल्लाह गरेर निर्णय लिन्छु भनें। त्यसपछि उहाँ मेरो घरमा आउनुभएको थियो। मैले उहाँलाई सहयोग र समर्थन गर्ने जानकारी दिएँ। दोस्रो चरणको चुनावमा देउवालाई सहयोग गर्न सबैलाई आग्रह गर्दछु,’ उनले भने।

कांग्रेस निर्वाचन समितिले दोस्रो चरणको निर्वाचनका लागि कार्यतालिका बनाइसकेको छ। आजै दिउँसो साढे ३ बजेबाट निर्वाचन सुरु गर्ने उसको तयारी छ। प्रकाशमान सिंह र विमलेन्द्र निधिले देउवालाई समर्थन गर्ने निर्णय गरेसँगै शेखर कोइराला पराजित हुने सम्भावना बलियो बनेपछि उनी ब्याक हुने सम्भावना रहेको आंकलन गरिएको थियो।

अनुमानविपरीत कोइरालाले पत्रकार सम्मेलन नै गरेर दोस्रो चरणको निर्वाचनमा पनि आफू उत्रिने र विजयी हुने दाबी गरे। उनले महाधिवेशन प्रतिनिधिहरुसँग आग्रह गर्दै भने, ‘जो जता लागे पनि तपाईंहरु असल नेतृत्व छान्ने आफ्नो दायित्वमा खरो ढंगले उत्रिनु होला। मलाई विश्वास छ तपाईंहरुले आफ्नो मनले खाएको र कांग्रेसमा परिवर्तन ल्याउन सक्ने नेता छान्नु हुनेछ।’ 

संस्थान इतर समूहका सिंहले साथ छाडेका विषयमा पत्रकारले गरेको प्रश्नको जवाफ दिँदै उनले, ‘कसले कसलाई समर्थन गर्यो यो ठूलो कुरा होइन, मुख्य कुरा चाहिँ प्रतिनिधिले कसलाई मत दिन्छन् भन्ने हो। मलाई विश्वास छ, उहाँहरुले असल नेतृत्व चयन गर्नुहुने छ।’ 

शेखरको आफ्नै तयारी

सभापतिका अर्का प्रत्यासी शेखर कोइरालाले पनि आफ्नो पक्षमा सहयोग गर्न निधि र सिंहलाई आग्रह गरेका छन्। उनले कोइरालाले अर्का उम्मेदवार प्रकाशमान सिंहसँग भेट गरेका छन्। कोइराला मंगलबार बिहान सिंहलाई भेट्न उनको निवास चाक्सीबारी पुगेका थिए। यस्तै उनले निधिसँग पनि फोनमा कुराकानी गरेर सहयोग मागेका छन्। यद्यपि दुवै नेताले देउवालाई समर्थन गरिसकेका छन्।

उता महाधिवेशन प्रतिनिधिहरूले कोइरालाका पक्षमा खुल्न वरिष्ठ नेता रामचन्द्र पौडेललाई दबाब दिएका छन्। वरिष्ठ नेता पौडेलले मंगलबार लैनचौरमा आयोजना गरेको चियापानमा सहभागी महाधिवेशन प्रतिनिधि र कार्यकर्ताले पौडेलले कोइरालाका पक्षमा समर्थन जनाउनुपर्ने भन्दै नाराबाजी गरेका हुन्।

कांग्रेस सभापतिको रेसबाट बाहिरिएका पौडेलले अहिलेसम्म खुलेर कसैलाई समर्थन गरेका छैनन्। कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरूले पौडेलले कोइरालाको पक्षमा नखुल्दा पार्टीको नेतृत्व परिवर्तन हुन नसकेको भन्दै नाराबाजी गरेका थिए। 

शेखरबाहेक सभापतिका सबै उम्मेदवारको समर्थन देउवालाई

नेपाली कांग्रेसका सभापतिको दोस्रो चरणको मतदानमा सभापतिका प्रत्यासी कल्याणकुमार गुरुङले पनि सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन्।

सभापतिको दोस्रो चरणको मतदानमा आफूले देउवालाई नै समर्थन गर्ने निर्णय गरेको नेता गुरुङले जानकारी दिए। ‘अहिले हामी सबै साथीभाइ सँगै छौं। प्रकाशमान सिंह र विमलेन्द्र निधिले पनि सभापतिज्यूलाई समर्थन गर्ने निर्णय गर्नुभएछ। त्यसैले हामीले पनि दोस्रो चरणको मतदानमा देउवालाई नै समर्थन गर्ने निर्णय भएको छ,’ गुरुङले भने। उनले सभापतिको निर्वाचनमा २२ मत प्राप्त गरेका थिए। 

दोस्रो चरणको मतदानमा देउवालाई सघाउने निर्णय प्रकाशमान सिंह र विमलेन्द्र निधिले गरिसकेका छन्।


प्रकाशित: Dec 14, 2021| 14:30 मंगलबार, मंसिर २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...