काठमाडौं– पूर्वमन्त्री हृदयेश त्रिपाठीले नयाँ पार्टी गठन गरेका छन्। राजधानीमा मंगलबार पत्रकार सम्मेलन गर्दै पूर्वमन्त्री त्रिपाठीले जनता प्रगतिशलि पार्टी गठन गरेका जानकारी दिएका हुन्। पार्टी घोषणापछि पूर्वमन्त्री त्रिपाठीले देशमा पार्टीको अभाव भएर नयाँ पार्टी गठन नगरेको बताए।
उनले अहिले देशमा वैचारिक बहस शून्य रहेको र राज्यका तीनवटै अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रभावहीन तथा गतिहीन भएकाले राजनीतिलाई गतिशील बनाउन नयाँ पार्टी गठन गरेको दाबी गरे।
उनले अन्य दलको आलोचना नगरी काम र सिद्धान्तले पार्टीलाई अघि बढाउने बताए। उनले भने, ‘संविधान कार्यान्वयनका क्रममा देखिएका जटिलता पहिचान गरी आगामी निर्वाचन पूर्वसहमति प्राप्त बुँदाहरुमा संविधान संशोधन गर्न आवश्यक छ। पार्टीले संविधान संशोधनका लागि काम गर्छ।’
पूर्वमन्त्री त्रिपाठीले संविधान संशोधन, लेखा परीक्षण, स्थानीय तहको सीमांकन, मुलुकको अर्थतन्त्र, मुख्य अन्नबालीको न्यूनतम समर्थन मूल्य निर्धारण, तराई मधेसका परम्परागत पेसााहरुको संरक्षण, जन्मका आधारमा नागरिकता पाउनुपर्ने लगायतका विषयमा पार्टीले वैचारिक बहस गर्ने बताए।
प्रकाशित: Dec 14, 2021| 13:50 मंगलबार, मंसिर २८, २०७८