काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले विदेशीको रणनीतिअनुसार नेपाललाई अस्थिरतामा लैजान सत्तारुढ गठबन्धन क्रियाशील रहेको आरोप लगाएका छन्।
संघीय संसदको बैठक बस्नुअघि रणनीति बनाउन मंगलबार बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धन विदेशीको रणनीतिअनुसार देशमा अस्थिरता जारी राख्ने गरी अघि बढेको आरोप लगाएका हुन्।
मंगलबार दिउँसोदेखि सुरु हुन लागेको संसदको हिउँदे अधिवेशन चल्न नदिने गरी आफ्ना सांसदलाई सम्बोधन गर्दै उनले एमालेमाथि सभामुखले अपराध गरेको भन्दै पार्टीले लिएको रणनीतिअनुसार प्रस्तुत हुन निर्देशन दिए। एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाले अपराध गरेको बताएका उनले निर्वाचन आयोग पनि एमाले विभाजनमा सहभागी भएको आरोप लगाए।
देशलाई प्रतिगमनतिर जानबाट रोक्नुपर्ने भन्दै उनले भने, ‘देश अलिकति प्रतिगमनतिर गएको छ, रोक्नुपर्छ। देशमा प्रतिगामी सरकार छ। प्रतिगामी, दिशाहिन, फोहोरी र अपवित्र पाँच दलीय गठबन्धन छ। कांग्रेसको महाधिवेशन उद्घाटनमा सार्वजनिक अभिव्यक्तिले पनि देशलाई प्रतिगमनतिर लैजान खोजेको बुझिन्छ।’
देशमा स्थायित्व, अग्रमन, विकास र समृद्धिलाई रोक्न अस्थिरता निम्त्याउन गठबन्धन सक्रिय रहेको भन्दै उनले यसका लागि एमालेविरुद्ध उनीहरू उत्रिएका छन्। ‘एमालेमाथि प्रहार गर्ने काम भइरहेको छ। विभिन्न रंगका प्रतिगामी तत्वहरू एमालेविरुद्ध लागेका छन्,’ ओलीले भने, ‘एमाले उपलब्धिको रक्षा गरेर बस्नेछ। यसका लागि आफूलाई तयार गरेर राख्नुपर्छ।’