काठमाडौं– नेपाली कांग्रेसका सभापतिका लागि दोस्रो चरणको निर्वाचन मंगलबार साढे ३ बजे हुँदैछ। पहिलो चरणमा भएको निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका पाँच जनामध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि दोस्रो चरणको निर्वाचन गर्न लागिएको कांग्रेस निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले बताए। सोमबार बिहान घोषित मत परिणामअनुसार देउवाले सबैभन्दा बढी २२५८ मत ल्याएका छन्। उनले ८३ मत पुर्याउन नसक्दा निर्वाचन हुन लागेको हो। निर्वाचनमा कुल ४६७९ मत खसेको थियो।
अर्का प्रतिस्पर्धा शेखर कोइरालाले १७२९ मत पाएका छन्। यसैगरी प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत पाए। यी तीनैजनाको मत जोड्दा ६४३ मत हुन्छ। जितका लागि देउवालाई ८२ मत र कोइरालालाई करिब ६ सय मत चाहिन्छ। अब देउवा र कोइरालाबीच पुनः प्रतिस्पर्धा हुनेछ।
सिंहको समर्थन देउवालाई
सभापतिका प्रत्यासी प्रकाशमान सिंहले दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई सघाउने प्रतिबद्धता जनाएका छन्। सिंहको साथ खोज्दै चाक्सीबारी पुगेका देउवाले पार्टीमा रहेका कमीकमजोरी सच्याउने प्रतिबद्धता जनाएपछि आफूले सघाउने निर्णय गरेको नेता सिंहले बताए। सिंहले महाधिवेशन प्रतिनिधिको भावना पनि देउवाले नै चुनाव जितून् भन्ने देखिएकाले आफूले आफ्नो टिमसँग सल्लाह गरेर देउवालाई समर्थन गरको सिंहको भनाइ छ।
प्रधानमन्त्री शेरबहादुर देउवा सिंहलाई भेट्न चाक्सीबारी पुगेका थिए। भेटपछि सिंहले पत्रकारहरूसँग भने, ‘अब दोस्रो चरणको निर्वाचनमा देउवालाई मेरो समर्थन रहनेछ। देशभरकै बहुमत प्रतिनिधिले देउवालाई नै समर्थन गरेको देखिएको छ। उहाँले यसपटक मलाई हेल्प गर्नुस् भन्नुभयो। विधान संशोधनदेखि लिएर कमीकमजोरी सच्याइन्छ भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको छ।’ सिंहका अनुसार देउवाले पार्टीमा परिवर्तन गर्नुपर्ने कुरामा सहमति जनाएका छन्।
निधिले भने– बिनासर्त देउवालाई सघाउँछु
नेपाली कांग्रेसको सभापतिका उम्मेदवार देउवालाई अर्का उम्मेदवार विमलेन्द्र निधिले पनि सघाउने भएका छन्। मध्यबानेश्वरस्थित निधि निवासमा भएको भेटपछि निधिले देउवालाई सहयोगको बचन दिएका हुन्। निवासमा पुग्नुअघि देउवाले निधिलाई फोन गरेर सहयोगका लागि आग्रह गरेका थिए। ‘बिहानै फोन गर्नुभएको थियो सहयोगका लागि। म तपाईंप्रति सकारात्मक छु, साथीहरुसँग सल्लाह गरेर निर्णय लिन्छु भनें। त्यसपछि उहाँ मेरो घरमा आउनुभएको थियो। मैले उहाँलाई सहयोग र समर्थन गर्ने जानकारी दिएँ। दोस्रो चरणको चुनावमा देउवालाई सहयोग गर्न सबैलाई आग्रह गर्दछु,’ उनले भने।
शेखरको आफ्नै तयारी
सभापतिका अर्का प्रत्यासी शेखर कोइरालाले पनि आफ्नो पक्षमा सहयोग गर्न निधि र सिंहलाई आग्रह गरेका छन्। उनले कोइरालाले अर्का उम्मेदवार प्रकाशमान सिंहसँग भेट गरेका छन्। कोइराला मंगलबार बिहान सिंहलाई भेट्न उनको निवास चाक्सीबारी पुगेका थिए। यस्तै उनले निधिसँग पनि फोनमा कुराकानी गरेर सहयोग मागेका छन्। यद्यपि दुवै नेताले देउवालाई समर्थन गरिसकेका छन्।
उता महाधिवेशन प्रतिनिधिहरूले कोइरालाका पक्षमा खुल्न वरिष्ठ नेता रामचन्द्र पौडेललाई दबाब दिएका छन्। वरिष्ठ नेता पौडेलले मंगलबार लैनचौरमा आयोजना गरेको चियापानमा सहभागी महाधिवेशन प्रतिनिधि र कार्यकर्ताले पौडेलले कोइरालाका पक्षमा समर्थन जनाउनुपर्ने भन्दै नाराबाजी गरेका हुन्।
कांग्रेस सभापतिको रेसबाट बाहिरिएका पौडेलले अहिलेसम्म खुलेर कसैलाई समर्थन गरेका छैनन्। कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरूले पौडेलले कोइरालाको पक्षमा नखुल्दा पार्टीको नेतृत्व परिवर्तन हुन नसकेको भन्दै नाराबाजी गरेका थिए।
कोइरालाले समारोहमा सम्बोधन गर्दै भने, ‘‘तपाईंहरूको साथ पाएर खुसी छु, हामी जित नजिक छौं। तपाईंहरूको विवेक प्रयोग गर्नुहोस्।’ पौडेल शेखरको पक्षमा त खुलेनन्। तर उनले आफ्नो आत्माको आवाज सुनेर मतदान गर्न आग्रह गरे।