काठमाडौं– नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दै छ। सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा मंगलबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए।
उनका अनुसार बैठकमा आजैबाट सुरु हुन लागेको संसदको १०औँ अधिवेशनका बैठक पार्टीका तर्फबाट कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुनेछ।
पदीय मर्यादाविपरीत एमाले विभाजनमा भूमिका खेलेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग्दै आएको एमालेले अब संसद्मा सो विषय उठाउला कि नउठाउला भन्ने चासो छ। अघिल्लो अधिवेशनभर नै एमालेले संसद् अवरुद्ध गरेको थियो। नवौँ अधिवेशन एमाले सांसदको विरोध र नाराबाजीमै सकिएको थियो।
सरकारको सिफारिसमा यही १६ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले २८ मंसिर मंगलबार दिउँसो २ बजे बस्ने गरी संघीय संसदको दुवै सदनको बैठक आह्वान गरेकी थिइन्। सोहीअनुसार आज दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ।