काठमाडौं- नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ। आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवारहरूले बहुमत नपाएपछि पुनः मतदान हुने भएको हो।
कांग्रेस निर्वाचन समितिका अनुसार मतदान आज दिउँसो साढे तीन बजेदेखि हुने छ। सोमबार मतदान भएका तीन स्थानबाट नै मतदान हुने निर्वाचन समितिले जनाएको छ।
पहिलो चरणको मतदानमा शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाएपनि बुहमत पुर्याउन सकेनन्। कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ।
आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो। जसमा देउवाले २२५८ मत मात्र पाएका थिए। उनलाई सभापति निर्वाचित हुन ८२ मत कम परेको थियो।
दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने देउवा र दोस्रो हुने डाक्टर शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ। कोइरालाले १७४९ मत ल्याएका छन्।