काठमाडौं– नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना गर्ने स्थान राष्ट्रिय सभागृहमा सुरक्षाका लागि सीसी क्यामेरा जडान गरिएको छ। मतगणनास्थलको सुरक्षा व्यवस्था कडाइ गर्दै सीसी क्यामेरा जडान गरिएको हो।
अहिले मतगणनास्थलमा उम्मेदवार र उनीहरूका प्रतिनिधिहरू पुग्ने क्रम जारी छ। केही उम्मेदवारका प्रतिनिधि भने गणनास्थलमा नपुगेपछि त्यहाँ उपस्थित गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँड र उपसभापतिका उम्मेदवार पूर्णबहादुर खड्कालगायतले ठट्यौली पनि गरिरहेका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले राती १ बजेदेखि सभापति पदको मतगणना सुरु हुने बताएको थियो। यद्यपि गणना सुरु हुन सकेको छैन। अब राती २ बजेदेखि गणना सुरु गर्ने तयारी गरिएको निर्वाचन समितिले जानकारी दिएको छ। गणनास्थल वरपर प्रहरीको बाक्लो उपस्थिति छ।