काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत मतदान सकिएपछि केन्द्रीय निर्वाचन समितिले मतपेटिका सिल गरेको छ। मतपेटिका सिल गरी संकलनको काम भइरहेको छ। सभापतिका उम्मेदवारका लागि मत खसालिएका तीन वटा मतपेटिका सिल गरिएको निर्वाचन समितिले जनाएको छ।
महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदाता थिए। तीमध्ये ४ हजार ६ सय ७९ ले मत खसालेका छन्। बिहान करिब साढे ११ बजे सुरु भएको मतदान अहिले राति साढे ११ बजे सकिएको हो। सुरुमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकिएकोमा तीन पटकसम्म समय थप भएको थियो।
कांग्रेस सभापतिसहित १३४ पदमा नयाँ नेतृत्व चयन हुनका लागि ४९१ उम्मेदवार चुनावी मैदानमा छन्। निर्वाचन समितिले प्रकाशन गरेको अन्तिम नामावली अनुसार सभापति पदका लागि पाँच जना, उपसभापति (दुई) पदका लागि सात जना, दुई जना महामन्त्रीका लागि ६ र आठ जना सहमहामन्त्रीका लागि १९ जना प्रतिस्पर्धामा छन्।
सभापतिमा शेरबहादुर देउवा, डा शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङ प्रतिस्पर्धामा छन्। पहिलो चरणमा सबै पदको मतदान प्रक्रिया सम्पन्न भए पश्चात् सभापति पदको मतगणना हुनेछ।
पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेमा सभापतिका लागि दोस्रो चरणमा निर्वाचन हुनेछ। अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुका लागि भने बहुमत ल्याउने विजयी हुने प्रावधान छ।