बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • साढे ११ बजेसम्म थपियो मतदानको समय, राती १ बजेदेखि गणना थाल्ने तयारी

साढे ११ बजेसम्म थपियो मतदानको समय, राती १ बजेदेखि गणना थाल्ने तयारी

कांग्रेस केन्द्रीय निर्वाचन समितिले हालसम्म ४५ सय जनाले भोट हालेको जानकारी दिएको हो। अब २४३ मत खस्न बाँकी छ।
 |  सोमबार, मंसिर २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २७, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४औं केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भइरहेको मतदानमा ४५ सय जना प्रतिनिधिले भोट हालेका छन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिले हालसम्म ४५ सय जनाले भोट हालेको जानकारी दिएको हो। अब २४३ मत खस्न बाँकी छ। 

सोमबार बिहान ८ बजेदेखि मतदान सुरु भनिए पनि निर्वाचन समितिको कमजोर तयारीका कारण साढे ११ बजेदेखि मात्र मतदान सुरु भएको थियो। यसअघि राती १० बजेसम्मका लागि मतदान गर्न पाउने भनिएपनि समय थप गरेर साढे ११ बजेसम्म मतदान गर्न पाइने व्यवस्था गरिएको समितिले जनाएको छ। 

कांग्रेस सभापतिसहित १३४ पदमा नयाँ नेतृत्व चयन हुनका लागि ४९१ उम्मेदवार चुनावी मैदानमा छन्। काठमाडौंको भृकुटीमण्डपमा दुई वटा र राष्ट्रियसभा गृहमा एउटा गरी जम्मा तीन ठाउँमा मतदाताहरुले मतदान गरिरहेका छन्।

मतदान सकिएलगत्तै सभापतिको मतगणना सुरु गर्ने तयारी गरिएको छ। राती १ बजेदेखि सभापतिका लागि खसेको मत गणना सुरु गर्ने तयारी भइरहेको निर्वाचन समितिले जानकारी दिएको छ।

निर्वाचन समितिले प्रकाशन गरेको अन्तिम नामावली अनुसार सभापति पदका लागि पाँच जना, उपसभापति (दुई) पदका लागि सात जना, दुई जना महामन्त्रीका लागि ६ र आठ जना सहमहामन्त्रीका लागि १९ जना प्रतिस्पर्धामा छन्।

सभापतिमा शेरबहादुर देउवा, डा शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङ प्रतिस्पर्धामा छन्। पहिलो चरणमा सबै पदको मतदान प्रक्रिया सम्पन्‍न भए पश्चात् सभापति पदको मतगणना हुनेछ।

पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेमा सभापतिका लागि दोस्रो चरणमा निर्वाचन हुनेछ। अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुका लागि भने बहुमत ल्याउने विजयी हुने प्रावधान छ।

प्रकाशित: Dec 13, 2021| 22:51 सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...