बिहीबार, वैशाख २०, २०८१

कांग्रेस सभापतिका उम्मेदवार शेखर कोइरालालाई सात प्रश्न

सरकार निरन्तर चल्छ। यहि सरकारले चुनाव गर्छ। सरकारबाट हट्नुपर्छ की भनेर देउवाजी आत्तिनु पर्दैन।
 |  सोमबार, मंसिर २७, २०७८

धीरज बस्नेत

धीरज बस्नेत

सोमबार, मंसिर २७, २०७८

नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत मतदान चलिरहेको छ। बिहान साढे ११ बजे सुरु भएको मतदान राति १० बजे पनि सकिएको छैन।

triton college

सभापतिको दौडमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ छन्। सबै उम्मेदवारहरु सोमबार दिनभरजसो मतदातासँग भोट माग्न व्यस्त देखिन्थे। मतदानस्थलमा अपराह्न सभापतिका उम्मेदवार शेखर कोइरालासँग गरिएको छोटो कुराकानीः  

सभापतिमा उमेदवारी दिनु भएको छ, अहिले पनि मत मागि रहनु भएको छ। माहोल कस्तो पाउनु भएको छ?

महोल अत्यन्त शान्तिपूर्ण छ। राम्रैसँग मतदान भएको छ। आशावादी छु, मतदाताले सही उम्मेदवार छनोट गरेर मतदान गर्नुभएको छ। सुरुमा अलि कन्फ्यूज भएजस्तो भयो, तोकिएको समयभन्दा ढिलो मतदान सुरु भयो। ८ बजेदेखि लाइनमा बस्नु भएका महाधिवेशन प्रतिनिधिहरु ११ बज्दासम्म पनि मतदान सुरु नभएपछि निराश देखिनु भएको थियो। त्यसका लागि निर्वाचन समितिको तर्फबाट म माफी माग्न चाहन्छु।

मतदाताको नामावली हेर्दा ४ हजार ७ सय ४४ जना मतदाता छन्। तर अनुपस्थित कति छन् भन्ने कुरा यो रजिस्ट्रेसन फर्म नलिई त भन्न सक्दैनौ। हामीलाई आएको जानकारी अनुसार १ सय ३५ जनाले रजिस्ट्रेसन गरेका छैनन्। ती मतदातालाई कसरी पत्ता लगाउने भनेर काम गर्दा र मतपत्र छपाइमा ढिला हुँदा मतदान ढिला सुरु भयो।

corrent noodles
Metro Mart

मतदाता कत्तिको उत्साहित पाउनु भयो ?

मतदाता अत्यन्तै उत्साहित छन्। म आफूलाई युवा त भन्दिन।  तर, मेरो टिम युवाले भरिएको छ। म युवाको नेतृत्व गरेर मतदाता माझ आएको छु। एउटा सभापतिले मात्रै केहि गर्न सक्ने होइन, यो त टिमले काम गर्नु पर्ने हुन्छ। हामी त्यसैअनुसार हिँडेका छौं। पार्टीका वरिष्ठ नेता, महामन्त्री शंशाक कोइरालाको सरसल्लाह लिएर अघि बढ्छौ । हाम्रो टिमप्रति मतदाताले भरोसा गरेको पाएको छु।

महाधिवेशन उद्घाटन भैसकेपछि अन्तिम समयमा आएर तपाईहरुको नयाँ समूह जन्मियो। यो समूह विचारका हिसावले अरु भन्दा फरक के छ? तपाईहरुलाई मतदाताले भोट किन दिने?

नेपाली कांग्रेसको साढे ५ वर्षको इतिहास  हेर्नु भयो भने विधि विधानबाट चलेको देखिँदैन। हामी विधि विधानबाट चलाउन चाहन्छौ। सबैभन्दा महत्वपूर्ण कुरा त्यहि हो। कांग्रेसका आम देशभरका कार्यकर्ताहरुको चाहना पनि पार्टी विधि र विधान अनुसार चलोस् भन्ने छ। हामी उहाँहरुको त्यहि चाहनालाई मूर्त रुप दिन मैदानमा छौ। बितेको साढे ५  वर्षमा पार्टीमा भएका निर्णयहरु सामाजिक सञ्जालबाट थाहा पाउनु पर्ने अवस्था बन्यो। आज यो चेन्ज भयो, हिजो यस्तो निर्णय भयो भन्ने कुरा सामाजिक सञ्जाल हेरेपछि बल्ल थाहा पाइने। यसरी त पार्टी ध्वस्त हुन्छ। केन्द्रीय सदस्यहरुलाई गुमराहमा राखेर जुन शैलीबाट पार्टी चलाउन खोजियो, त्यो परिवर्तन गर्न जरुरी छ। त्यसको नेतृत्व हामीले गर्ने छौ। त्यसैले हामी फरक छौ।

कुनै पनि ठूला विषयमा निर्णय गर्दा पार्टीमा छलफल गरौँ। आवाश्यक परे विज्ञसँग सल्लाह गरौँ। विधानमा परिवर्तन गर्नुपर्छ भने पनि गरौ तर यसरी पुरानै शैलीबाट पार्टी चल्नु हुँदैन भन्ने हाम्रो स्पष्ट धारण छ, नम्बर एक। नम्बर दुई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यस्थामा हामी गैसकेका छौ। त्यो व्यस्थालाई अझै कसरी सुढृड गर्ने? त्यसमा केहि संसोधन गर्नुपर्छ संसद्बाट गरौँ। यो संविधानलाई पालना गरेर जानुबाहेक हामीसँग अर्को कुनै विकल्प म देख्दिन। म यो किन भन्दैछु भने, उद्घाटन समारोहमा पनि केहि यस्ता कुराहरु आए जसले की संविधान नै धरापमा पर्छ की भन्ने चिन्ता छ।

त्यसैले यो  व्यवस्थालाई सुढृड बनाएर जाने हाम्रो परिकल्पना छ। तेस्रो कुरा भातृसंस्थाहरु ड्यामेज अवस्थामा छन्। उनीहरुलाई कार्यक्रमसहित जीवन्त र क्रियाशिल बनाएर हामी जान चाहन्छौ। चौथो कुरा नेपाली कांग्रेस भित्र जवाफदेहिता, उत्तरदाहित्व र पारदर्शिता विल्कुल छैन। पारदर्शी  निर्णय, जवाफदेही  नेतृत्व र पार्टी उत्तरदायी हुने हामी बनाउँछौ। यी कुराहरुलाई लिएर हामी अगाडी बढ्न खोजेका छौ।

वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्नु भएको थियो। के भयो कुराकानी?

आज (सोमबार) बिहानै उहाँको घर गएको थिएँ। उहाँको आशिर्वाद लिन गएको थिए। उहाँले मलाई आशिर्वाद दिनु भएको छ।

तपाईहरुका कारण पार्टीको सक्रिय राजनीतिबाट अवकास लिने अवस्था बन्यो भनेर उहाँले चित्त दुखाउनु भएको रहेछ। यस विषयमा केहि कुरा भएन?

त्यस्तो कुनै कुरा भएन। तर, उहाँले चित्त दुखाउनु स्वभाविक हो। तर, मैले त रामचन्द्र पौडेलको पक्षमा सहमति बन्छ भने म छाड्न तयार छु भनेकै थिएँ। मैले नछाड्न खोजेको होइन। संस्थापन इतरबाट हामी ४ जना रामचन्द्र पौडेल, म, प्रकाशमान सिंह र शंशाक कोइरालाबीच प्रतिस्पर्धा थियो। मैले सहमति हुन्छ भने  रामचन्द्र पौडेलको नाममा सहमति गरौँ भनेर म तयार नै थिएँ। तर, प्रकाशमानले नमानेपछि अवस्था बदलियो। त्यो कुरामा दुःख लागेको छ। तर, दुःख लाग्दैमा संसार त चेन्ज हुँदैन। अधिवेशन त चेन्ज हुँदैन। उहाँलाई चित्त दुख्नु स्वभाविक हो। उहाँले सहमति गारउन सक्नु भएन वा भएन। तर, पनि उहाँले आशिर्वाद दिनु भएको छ।

माहोल र अंकगणित हेर्दा जीतको सम्भावना कति देख्नु भएको छ? दोस्रो चरणमा जाने सम्भावना कति छ ?

म विश्वासका साथ भन्न सक्छु जीत हाम्रै हुन्छ। त्यो सम्भावना बलियो देखेको छु। त्यो पनि पहिलो चरणमा नै जीत हासिल गर्ने सम्भावना देखेको छु। दोस्रो चरणमा जान्छ जस्तो लाग्दैन मलाई। यदि पहिलो राउन्डमा अहिलेको नेतृत्व पराजित भएन भने दोस्रो राउन्डमा म, प्रकाशमान र निधीजी मिलेर भए पनि हटाइन्छ। प्रधानमन्त्री शेरबहादुर देउवा आत्तिन थालिसक्नु भएको छ। उहाँ मैले हारे भने गठबन्बधन टुट्छ भन्न थालिसक्नु भएको छ। यो त कमजोर मनस्थितिको मान्छेले मात्रै भन्छ। यसबाट पनि प्रष्ट हुन्छ नी।

के देउवाले हार्नु भयो साँच्चै गठबन्धन धरापमा पर्छ ? सरकारमै कुनै फेरबदल आउँछ ?

पार्टीको अहिलेको नेतृत्व त जान्छ जान्छ। यसमा कुनै शंका छैन। तर, उहाँले हार्र्दैमा अहिलेको गठबन्धन कुनै  पनि हालतमा धरापमा पर्दैन। गठबन्धन अझै बलियो बनाएर लैजान्छौ। सरकार पनि निरन्तर चल्छ। यहि सरकारले चुनाव गर्छ। सरकारबाट हट्नु पर्छ की भनेर देउवा जी आत्तिनु पर्दैन।

प्रकाशित: Dec 13, 2021| 22:12 सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...