काठमाडौं– नेपाली कांग्रेसको १४औं केन्द्रीय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भइरहेको मतदानको दिन सोमबार मतदान सुरु भएको ४ घण्टामा १४५० मत खसेको छ। दिउँसो साढे ३ बजेसम्ममा १४५० मत खसेको कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिए।
सोमबार बिहान ८ बजेदेखि मतदान सुरु भनिए पनि निर्वाचन समितिको कमजोर तयारीका कारण साढे ११ बजेदेखि मात्र मतदान सुरु भएको थियो। सभापतिसहित १३४ पदका लागि ४९१ उम्मेदवार चुनावी मैदानमा छन्।
कांग्रेसमा ४ हजार ७४३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। काठमाडौंको भृकुटीमण्डपमा दुई वटा र राष्ट्रियसभा गृहमा एउटा गरी जम्मा तीन ठाउँमा मतदाताहरुले मतदान गरिरहेका छन्।
दिउँसो दुई बजेसम्ममा राष्ट्रिय सभामा २०० र भृकुटीमण्डपमा ४०० गरी ६०० मत खसेको छ। निर्वाचन समितिले प्रकाशन गरेको अन्तिम नामावली अनुसार सभापति पदका लागि पाँच जना, उपसभापति (दुई) पदका लागि सात जना, दुई जना महामन्त्रीका लागि ६ र आठ जना सहमहामन्त्रीका लागि १९ जना प्रतिस्पर्धामा छन्।
सभापतिमा शेरबहादुर देउवा, डा शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङ प्रतिस्पर्धामा छन्। पहिलो चरणमा सबै पदको मतदान प्रक्रिया सम्पन्न भए पश्चात् सभापति पदको मतगणना हुनेछ।
पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेमा सभापतिका लागि दोस्रो चरणमा निर्वाचन हुनेछ। अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुका लागि भने बहुमत ल्याउने विजयी हुने प्रावधान छ।