काठमाडौं- नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने मिसनमा लागेको बताएका छन्। सोमबार अखिल नेपाल महिला संघले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नेताद्वय दाहाल र नेपालले पुँजीवादतर्फको यात्रा गरेको नेपाली कांग्रेसलाई नेता बनाएर कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने कुराको मिसनमा लागेको उनको दाबी छ।
उनीहरू दक्षिणपन्थी अवसरवादको सिकार भएको आरोप समेत पोखरेलको छ। महासचिव पोखरेलले दक्षिणपन्थी अवसरवादमाथि विजय हासिल गर्नुपर्ने विषय राजनीतिक चुनौती रहेको बताएका थिए।
‘उग्र कुरा गर्नेहरु अन्तिममा दक्षिणपन्थी अवसरवादको शिकार हुन्छन् भनेर हाम्रा अग्रजहरुले भन्ने गरेका थिए। त्यो चिज आज माओवादी आन्दोलनका सुप्रिमो ठानिने पुष्पकमल दाहाल प्रचण्डको जीवनमा पनि देखियो। हाम्रै आन्दोलनको लामो समयको नेताका रुपमा रहनुभएका माधव नेपाल जसलाई हामीले ३ कार्यकाल पार्टीको प्रमुखको रुपमा जिम्मेवारी सुम्प्यौँ, उहाँलाई नेता मान्यौँ। उहाँले पनि आफ्नो जिवनमा त्यो चिजलाई प्रकट गर्नुभयो,' पोखरेलको भनाइ थियो, 'प्रचण्ड र माधव नेपालहरु कांग्रेसलाई नेता बनाएर, कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने कुराको मिशनमा लाग्नुभाछ। दक्षिणपन्थी अवसरवाद भनेको यही हो। यसमाथि विजय हासिल गर्ने कुरा यति बेलाको राजनीतिको एउटा मख्सद हो भन्ने कुरालाई बुझ्नु जरुरी छ।’
महासचिव पोखरेलले एमालेलाई तीनै तहको निर्वाचनमा बहुमत प्राप्त पार्टीको रुपमा स्थापित गर्नु जरुरी रहेको बताए।