काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि मतदान भइरहेको छ। शुक्रबार औपचारिक उद्घाटन भएको कांग्रेसको निर्वाचन प्रक्रिया शनिबारदेखि सुरु भएको हो।
आइतबार उम्मेदवारको अन्तिम नामालवी प्रकाशित भएको थियो। आज सोमबार बिहान ८ बजेदेखि मतदान सुरु भनिए पनि निर्वाचन समितिको कमजोर तयारीका कारण केही समय ढिलो भएको हो। बिहान ११ बजेदेखि मतदान चलिरहेको छ। दिउँसो दुई बजेसम्ममा ६०० जनाले मतदान गरेका छन्।
सभापतिका उम्मेदवारहरुले भोट हालिसकेका छन्। मतदानस्थलमा उम्मेदवारहरु मत माग्न व्यस्त देखिन्छन्।
महामन्त्रीका उम्मेदवार गगन थापा पनि मतदानस्थलमा प्रतिनिधिहरुसँग मत मागिरहेका छन्। उनीसँग फोटो खिचाउनेहरु पनि प्रशस्तै देखिन्छन्।
थापाले फेसबुकमा भनेका छन्, ‘नेपाली कांग्रेसलाई कस्तो बनाउने र कस्तो नेतृत्व छनोट गर्ने भन्ने दूरगामी महत्वको क्षणमा हामी छौं। हाम्रो पार्टीको गौरवशाली विगतबाट प्रेरणा लिँदै भावी पुस्ताले भरोसा गर्ने आधुनिक एवं गतिशील कांग्रेस बनाउन हामीले यो महाधिवेशनबाट नयाँ यात्रा थाल्नु छ। यसका लागि पार्टीको विचार, कार्यक्रम र नेतृत्वमा नयाँपन चाहिएको छ। ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ बनाउने हाम्रो संकल्प पूरा गर्न पार्टी पुनर्जागरण र रुपान्तरणको अभियानमा हामीलाई साथ सहयोग र विवेकपूर्ण निर्णय गर्न हार्दिक अपिल गर्दछु।’
थापा शेखर कोइरालाको प्यानलबाट महामन्त्रीको उम्मेदवार छन्।