काठमाडौं- साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती ‘गोरेका’ ३ सहयोगी धरौटीमा रिहा भएका छन् भने तीनजनालाई पूर्पक्षका लागि जेल चलान गरिएको छ।
मोरङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलाशले ६ जना आरोपीमध्ये ३ जनालाई पुर्पक्षका लागि थुनामा र ३ जनालई धरौटीमा रिहा गर्न आदेश दिएको मोरङ जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ।
धरौटीमा रिहा हुनेमा मोरङ उर्लावारीका रेवन्तकुमार आचार्यलाई १ लाख २१ हजार ५ सय रुपैयाँ, दोलखा चरिकोट–१ का मोतीराम श्रेष्ठलाई १ लाख रुपैयाँ र झापा दमक–९ विनोद अधिकारीलाई पनि १ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश भएको जिल्ला अदालतले जनाएको छ।
गोरेका सहयोगी भनिएका काठमाडौं-१६ स्वयम्भूका फाल्दूङ्ग फुल्टुङ्ग भन्ने लक्षुबहादुर गुरुङ, काठमाडौं–६ गौरीघाटका रामकुमार तिवारी र काठमाडौं–९ मदन सिलवाललाई भने पूर्पक्षका लागि जेल चलान गरिएको हो ।
आइतबार र सोमबार भएको बहसपछि अदालतले उनीहरुको पक्ष र विपक्षमा आदेश सुनाएको हो। पहिलो चरणमा मोरङ प्रहरीले गोरेसहित ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। तस्करी र हत्यामै संग्लन भनिएका एमके अग्रवाललगायत अभियुक्त अझै फरार सूचीमा छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४