काठमाडौं- नेपाली कांग्रेसको सभापतिका उम्मेदवार शेरबहादुर देउवाले कांग्रेसलाई पुरानै अवस्थामा फर्काउने बताएका छन्।
महाधिवेशनस्थल भृकुटीमण्डपमा प्रधानमन्त्री समेत रहेका देउवाले एमाले अध्यक्ष ओली अझै पनि सत्ता कब्जा गर्ने प्रयासमा रहेकाले त्यसलाई रोक्न पनि आफू सभापतिमा दोहोरिनुपर्ने बताएका थिए।
'ओली अहिले पनि कुनै पनिहालतमा सत्ता कब्जा गर्ने प्रयासमा छन्। त्यसबाट जोगाउन काङ्ग्रेस बलियो हुनुपर्छ। म पार्टी सभापति बनेर तीन तहको निर्वाचन जिताउनेछु। प्रधानमन्त्रीका रुपमा स्वतन्त्र निष्पक्ष निर्वाचन गराउछु। काङ्ग्रेसलाई पुरानै अवस्थामा पुर्याउँछु,' देउवाले भने।
आफूहरूले कम्युनिस्टहरुको शासन देखिसकेको र उनीहरूले त्रासदी मात्र सिर्जना गरेको उनको भनाइ थियो। उनले काङ्ग्रेस बाहेक अरु कसैले पनि प्रजातन्त्र बनाउन नसक्ने दाबी गरे। 'सभापति जितेर उच्च मनोबलका साथ मुलुक र पार्टीलाई निर्वाचनमा लैजान्छु। प्रधानमन्त्री र पार्टी सभापति फरक फरक व्यक्ति हुँदा सरकार र पार्टी दुवै कमजोर भएको इतिहास छ। त्यसैले यहाँ देउवाको हार जीतको विषय होइन, प्रजातन्त्र बचाउनु छ, काङ्ग्रेसलाई जिताउनु छ। त्यसका लागि अहिलेको पार्टी सभापतिलाई नै फेरि जिताउनुपर्छ,' उनले भनेका थिए।