काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १० दिनभित्र सबै पदको मतपरिणाम सार्वजनिक गर्न सकिने बताएको छ। केन्द्रीय समितिमा उम्मेदवारी दिएका नेताले फिर्ता लिने अवधि सकिएपछि समितिले यस्तो बताएको हो।
'हाम्रो योजनाअनुसार अघि बढ्दा १० दिन भित्रमा सबै पदका नतिजा हामी सार्वजनिक गर्छौं,' केन्द्रीय निर्वाचन समिति सदस्य एगराज पोखरेलले भने।
निर्वाचन समितिले आइतबार साढे १२ बजेसम्म दिएको समयावधिमा २ पदाधिकारीसहित ५५ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको समेत उनले जानकारी गराए। निर्वाचन समितिका सदस्य एगराज पोखरेलले सोमबार बिहान ८ बजेबाट पदाधिकारी र सदस्यहरुको मतदान शुरु हुने र राती ८ बजेसम्म मतदान प्रक्रिया सकिने बताए।
मतदान सकिएपछि चाँडै सभापतिको मतगणना गर्ने र नेपाली कांग्रेसको विधानले तोकेअनुसार ५० प्रतिशत मत नपुगेमा मंसिर २८ गते १२ बजेभित्रमा दोस्रो चरणको मतदान गरिने उनको भनाइ छ। उनले सभापतिको मतगणना सकिएपछि अन्य सबै पदाधिकारी र सदस्यहरुको मतपेटिका पार्टी कार्यालय सानेपामा लगेर मतगणना गरिने समेत जानकारी दिए।
विधानअनुसार पहिलो चरणमा कुनै पनि उम्मेदवारको पक्षमा ५० प्रतिशत मत नआए २८ गते १२ बजेभित्रमा दोस्रो चरणको मतदान गर्ने उनको भनाइ छ। सभापतिको मतगणना सकिएपछि पार्टी कार्यालय सानेपामा मतगणना हुने उनको भनाइ छ।