काठमाडौं– नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनबाट २४ नेता 'रिङआउट' हुने भएका छन्। पदाधिकारीमा उम्मेदवारी दर्ता गराएका ३७ मध्ये २४ जना पाँच वर्षका लागि पार्टी बाहिरै बस्नुपर्ने भएको हो।
कांग्रेसको विधान अनुसार १३ जना पदाधिकारीमा निर्वाचित हुनेछन्। १३ पदमा हुने निर्वाचनमा ३७ जनाको उम्मेदवारी परेको छ। पदाधिकारीमा प्रतिस्पर्धा गरेर पराजित हुनेहरुलाई केन्द्रीय समितिमा मनोनित गर्ने व्यवस्था यसपटक छैन। कांग्रेसले मनोनित गर्ने व्यवस्थालाई हटाएर यसपटक महाधिवेशन गरिरहेको छ।
यसअघि एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्ष पदमा मात्रै निर्वाचन हुने व्यवस्था थियो। एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनित गर्ने अधिकार सभापतिलाई थियो। तर, २०७५ सालमा संशोधित विधानले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री निर्वाचित हुने पर्ने व्यवस्था गरेको छ। कोषाध्यक्ष मनोनित गर्ने अधिकार सभापतिमा निहित रहेछ।
पदाधिकारीमा उम्मेदवारी दर्ता गराएका ३७ मध्ये २४ जना पाँच वर्षका लागि पार्टी बाहिरै बस्नुपर्ने भएको हो।
विधानले पदाधिकारीमा पराजित हुने नेताहरुलाई केन्द्रीय समितिमा मनोनित गरेर ल्याउने बाटो समेत बन्द गरिदिएकाले यसपटक पराजित हुने नेताहरु केन्द्रीय समिति बाहिरै रहनेछन्। नेपाली कांग्रेसको विधान नवौं संशोधन (२०७५)को धारा २१ को १० मा सभापतिलाई मनोनित गर्ने अधिकार दिएको छ। तर, समानुपातिक र समावेशी सिद्धान्तका आधारमा मात्र मनोनित गर्ने अधिकार सभापतिलाई रहने छ।
उक्त धारामा भनिएको छ, ‘कम्तिमा दश वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट केन्द्रीय सभापतिले कार्यसमितिमा एक तिहाई सदस्य महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपांगता भएका वा अल्पसंख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्व समेतलाई ध्यानमा राखी ३३ जना सदस्य मनोनित गर्नेछ।’ यो बाहेक सभापतिलाई केन्द्रीय समितिमा मनोनित गर्ने अर्को व्यवस्था विधानमा छैन। जसका कारण पदाधिकारीमा लडेर पराजित भएका नेताहरु पाँच वर्ष कांग्रेस केन्द्रमा रहनेछैनन्।
पदाधिकारीमा क–कसले गर्दैछन् प्रतिस्पर्धा?
सभापति (एक)
१. शेरबहादुर देउवा
२. शेखर कोइराला
३. प्रकाशमान सिंह
४. विमलेन्द्र निधि
५. कल्याण गुरुङ
उपसभापति (दुई)
१. महेश आचार्य
२. सुजाता कोइराला
३. चन्द्र भण्डारी
४. धनराज गुरुङ
५. दिव्यश्वरी शाह
६. पूर्णबहादुर खड्का
७. विजयकुमार गच्छदार
महामन्त्री (दुई)
१. गगन थापा
२. मिनेन्द्र रिजाल
३. विश्वप्रकाश शर्मा
४. राजाराम कार्की
५. प्रदीप पौडेल
६. प्रकाशशरण महत
सहमहामन्त्री महिला (एक)
१. कमला पन्त
२. डिना महालक्ष्मी उपाध्याय
सहमहामन्त्री दलित (एक)
१. मानबहादुर विश्वकर्मा
२. जीवन परियार
३. गंगा सुनार
सहमहामन्त्री आदिवासी जनजाति (एक)
१. विकास लामा
२. भीष्मराज आङ्देम्बे
सहमहामन्त्री खस–आर्य (एक)
१. देवराज चालिसे
२. किशोरसिंह राठौर
सहमहामन्त्री मधेसी (एक)
१. रन्जित कर्ण
२. रामकृष्ण यादव
३. महेन्द्र यादव
सहमहामन्त्री मुस्लिम (एक)
१. फरमुल्लाह मन्सुर
२. शेख वकील
सहमहामन्त्री थारु (एक)
१. तेजुलाल चौधरी
२. उमाकान्त चौधरी
सहमहामन्त्री पिछडिएको क्षेत्र (एक)
१. बद्री पाण्डे
२. जीवनबहादुर शाही
३. चेतराज बराल