जनकपुरधाम- छाडा चौपायाको कारण सवारी दुर्घटना हुँदा जनकपुरमा एकजनाको ज्यान गएको छ भने अर्का एकजना घाइते भएका छन्। सोमबार जनकपुर उपमहानगरपालिका-१४ मुजेलियामा भएको सवारी दुर्घटनामा परी धनुषा विदेह नगरपालिका वडा नम्बर ३ बस्ने १९ वर्षीय जयनाथ साहको मृत्यु भएको हो।
ढल्केबर सडक खण्डअन्तर्गत जनकपुरबाट ढल्केतर्फ जाँदै गरेको ना १ ख ३७७६ नम्बरको मिनी ट्रकले सडकमा उभिरहेको गाईको बाछोलाई ठक्कर दिएको थियो।
गाईको बाछोलाई ठक्कर दिएको मिनी ट्रक अनियन्त्रित भई सडक किनारमा रोकेर राखेको ना ४ ख ३९१५ नम्बरको डिजल ट्यान्करमा ठोकिएको थियो।
अनियन्त्रित भई ठक्करदिँदा ट्रक चालकका सहचालक साहको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ।
त्यसैगरी दुर्घटनामा ट्रकका सहचालक धनुषा जनकनन्दनी गाउँपालिका २ बस्ने २६ वर्षीय असलम शेख घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ।
मिनी ट्रकको ठक्करबाट गाईको बाछोको समेत ज्यान गएको छ । छाडा चौपायाका कारण जनकपुर शहरी क्षेत्रसहित राजमार्ग क्षेत्रमा समेत पटक पटक दुर्घटना हुने गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४