जनकपुरधाम- नेकपा माओवादी केन्द्र ७ वटै प्रदेशमा प्रदेश महाधिवेशनको उदघाटन सत्र सम्पन्न भई सकेको छ। महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएसंगै माओवादी केन्द्रबाट प्रदेश अध्यक्ष सहित पदाधिकारीहरुका आकांक्षीहरु भने आन्तरिक तयारीमा जुटेका छन्।
प्रदेश अध्यक्षका आकांक्षीहरु औपचारिकरुपमा खुल्न नचाहेपनि विभिन्न गुट उपगुटमा गुपचुप तयारीमा लागिपरेका छन्।
प्रदेश सम्मेलनको उद्घाटन सत्र मात्रै भएको र पुस ३ गते मात्रै बन्द सत्र गर्ने तयारी रहेकाले माओवादी नेताहरु औपचारिकरुपमा खुल्न चाहेका छैनन्।
माओवादी केन्द्रका स्थायी समिति सदस्य महेन्द्र पासवानका अनुसार अहिले प्रदेश सम्मेलनको उद्घाटन कार्यक्रम सम्पन्न हुने र पुस ३ गते बन्द सत्र हुने भएकाले अहिले नै आकांक्षी औपचारिकरुपमा खुलेका छैनन्।
प्रदेश २ को अध्यक्ष पदका आकांक्षीहरु नखुल्न चाहेपनि प्रदेशसभा सदस्य जगत यादवले भने प्रदेश अध्यक्षका लागि दावी गरेका छन्।
उनले प्रदेश २ माओवादीको उर्वर भुमी रहेपनि नेतृत्वले सही ढंगले सबैलाई समेटेर अघि नबढ्दा पार्टी संगठन हुँदा हुँदैपनि कमजोर देखिएको बताए। उनले आफुले प्रदेशको नेतृत्वमा दावी गर्दै भने, ‘माओवादी पार्टी, संगठनलाई चलायमान बनाउन सहीढंगले विचार, सही नेतृत्वले नै आत्मसात गर्न सक्ने हुनाले प्रदेश अध्यक्ष पदमा मेरो दावी छ।’
अन्य नेताहरु खुल्न नचाहेपनि प्रदेश अध्यक्ष पदका आकांक्षीमा प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साह, नेता रामकुमार शर्मा र प्रह्लाद बुढाथोकी लगायतका पनि छन्।
अहिले माओवादी केन्द्र प्रदेश २ को अध्यक्ष प्रह्लाद बुढाथोकीले छन्। उनले प्रदेश २ को अध्यक्ष पदमा दोहोर्याउने सम्भावना प्रबल छ। तर अन्य नेताहरु आकांक्षी रहेपनि अहिले नै खुल्न चाहेका छैनन्।
अहिले पनि प्रदेश २ को अधिकांश पालिकामा अधिवेशन हुन बाँकी नै रहेको छ। पालिका अधिवेशन पछि हुने पुस ३ गते प्रदेश २ मा माओवादी केन्द्रले बन्द सत्र गर्ने योजना रहेको प्रदेश अध्यक्ष बुढाथोकीले प्रस्ट्याइसकेका छन्।
उनले पुस ३ भित्रसम्ममा अधिवेशन हुन बाँकी रहेका पालिकामा सम्पन्न भइसक्ने भएकाले अहिले प्रदेश सम्मेलनको उद्घाटन सत्र मात्रै हुने बताए।
पूर्व मन्त्री समेत रहेका स्थायी समिति सदस्य महेन्द्र पासवानले भने, ‘प्रदेश २ को ईन्चार्ज पदमा आफ्नो दावी रहने छ। उनले अघि थप्दै भने, ‘फेरी पनि स्थायी समितिमै आफ्नो दावी रहन्छ।’
अहिले नेकपा माओवादी केन्द्र प्रदेश २ को इन्चार्ज गणेश साह छन् भने प्रदेश अध्यक्ष प्रह्लाद बुढाथोकी छन्। त्यस्तै प्रदेश सचिवमा श्रवण यादव बरबरिया जीवन रहेका छन्।
स्रोतका अनुसार प्रदेश सचिव श्रवण यादव पनि प्रदेश अध्यक्ष पदका आकांक्षी छन्।
तर उनी यस बारेमा भने बोल्न चाहेनन्।
आकांक्षी रहेका उम्मेदवारहरुले भने सर्वसम्मतीरुपमै प्रदेशको पदाधिकारीहरु चयन हुनुपर्ने बताउँछन्।