काठमाडौं- नेपाली कांग्रेसको विधानअनुसार आदिवासी खस क्षेत्री महासङ्घलाई पार्टीको शुभेच्छुक संस्थाका रुपमा दर्ता नगरिएकामा खस क्षेत्री समुदायले गुनासो गरेको छ।
पार्टीको सङ्घ संस्था समन्वय विभाग प्रमुख नारायणप्रकाश सावदले विधान बनाएर पेश गर्नु भनेअनुसार गत भदौमै सबै प्रक्रिया पूरा गर्दा पनि महासङ्घलाई मान्यता नदिएको अध्यक्ष विष्णु खड्काले गुनासो गरे। विभाग प्रमुख सावद, महामन्त्री पूर्णबहादुर खड्काले केन्द्रीय समिति बैठकमा शुभेच्छुक संस्थाको मान्यताको प्रस्ताव पेस नगरी खस क्षेत्री समुदायलाई उपेक्षा गरेको भन्दै विज्ञप्ति निकालेर महासङ्घले विरोध जनाएको हो।
नेपालको इतिहासमा आदिवासी खस क्षेत्री समुदाय राष्ट्रियता, प्रजातन्त्र र समाजवादमा आस्था र निष्ठावान भई पार्टीमा निरन्तर क्रियाशील रहेकामाथि पटकपटक प्रहार गर्ने कार्य निरन्तर हुँदै आएको विज्ञप्तिमा उल्लेख छ।
आदिवासी खस समुदायको एकता एवं पुर्खाको इतिहासलाई अक्षुण्ण राख्नका लागि मुलुक भरी बसोबास गर्ने बहुसङ्ख्यक खस समुदायको साझा संस्थालाई मान्यता नदिने पार्टीको निर्णयप्रति महासङ्घले दुःख प्रकट गरेको हो।
शुभेच्छुक संस्थाको रुपमा आबद्ध हुन सम्बन्धित समितिबाट आबद्धता मागिएकाले विधान दर्ता गत भदौ ९ गते दर्ता नं २९ मा पार्टी कार्यालयमा गरिएको महासङ्घको विज्ञप्तिमा उल्लेख छ। महासङ्घले यो विषयलाई १४औँ महाधिवेशनमा गम्भीरताका साथ उठाउन पनि खस क्षेत्री समुदायका महाधिवेशन प्रतिनिधिमा आह्वान गरेको छ। साथै नयाँ निर्वाचित हुने पार्टी केन्द्रीय समितिसमक्ष महासङ्घलाई शुभेच्छुक संस्थाका रुपमा आबद्धता दिन पुनःजोडदार माग गरेको छ।