वासिङटन- अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीमा आएको आँधीबेहरीका कारण ५० जनाको मृत्यु भएको छ। केन्टकीका गभर्नरले राज्यमा कम्तीमा ५० जनाको मृत्यु भएको पुष्टि गरेका छन्। स्थानीय समय अनुसार शनिबार बिहानै सुरू भएको आँधीले देशका विभिन्न भागमा तहसनहस बनाएको उनले सञ्चारकर्मीहरूलाई बताएका थिए।
गभर्नर एन्डी बेसरले भने, 'केन्टकीका धेरै काउन्टीहरू राज्यबाट ३०० किलोमिटरकाभन्दा बढी क्षेत्रमा फैलिएको आँधीबेहरीका कारण तहसनहस भएका छन्। थप विवरणहरू आउने क्रम जारी रहेकोले क्षतिको एकीन विवरण आउन अझै केही समय लाग्ने देखिएको छ।'
मिसौरी, अर्कान्सास, केन्टकी र टेनेसीमा आँधीको बढी प्रभाव परेको बताइएको छ।
इलिनोइ राज्यमा हावाहुरीका कारण अमेजन कम्पनीको गोदाममा करीब १०० जना कामदार कम्पनीको गोदामभित्र थुनिएका स्थानीय सञ्चार माध्यमले बताएका छन्।
आँधीले पुर्याएका क्षतिलाई केन्टकीको इतिहासमा ‘गम्भीर तहसनहसको घटना’ भएको गभर्नरको भनाइ छ।
अमेरिकी समाचार च्यानलहरूमा सम्प्रेषित दृश्यचित्रहरूमा आँधीले धुलोको कालो मुस्लो जमिनबाट माथिसम्म उडाएको देखाइएको छ। बेसरले मध्यरातअघि नै आफूले केन्टुकीका कारण सङ्कट निम्त्याएको घोषणा गरेको बताए।