काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउन आफूले सभापतिमा उम्मेदवारी दिनु परेको बताएका छन्। पार्टीको जारी १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी दिएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता सिंहले पार्टीलाई विधिसम्मत, नियम सम्मत र संस्थागत ढंगले अघि बढाउन आफूले सभापतिमा उम्मेदवारी दिएको बताएका हुन्।
महाधिवेशनमा दोस्रो चरणको निर्वाचन हुने र आफूसहित आफ्नो प्यानल नै विजयी हुने दाबीसमेत उनले गरेका थिए। ‘मुख्य कुरा के हो भने पार्टीलाई विधिसम्मत, नियमसम्मत संस्थागत गर्ने। पार्टीलाई शुद्धीकरण गर्न, पार्टीलाई सुदृढीकरण गर्नका लागि मैले उम्मेदवारी दिएको हो,' सिंहले थपे, 'दोस्रो चरणको निर्वाचन हुने र आफूसहित आफ्ना प्यानलनै विजयी हुनेछ।’
नेता सिंहले १३ औं महाधिवेशनमा आफूले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएर अरु नेताहरुलाई अवसर दिएकाले यस पटक आफूलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए।