काठमाडौं- विश्वकपमा आफ्नो टिम छनोट हुँदा केही उत्कृष्ट खेलाडीले २३ सदस्यीय टिममा आफ्नो नाम समावेश गर्न सकेनन्। कतिपय इन्ज्युरीका कारण टिममा पर्न सकेनन् भने कतिपय प्रशिक्षकको नजरमा उत्कृष्ट खेलाडीमध्ये सर्वोत्कृष्ट भएनन्।
माउरो इकार्डी - ट्राइकर (अर्जेन्टिना)
इटालियन शीर्ष डिभिजन लिग सिरिआका सर्वाधिक गोलकर्ता माउरो इकार्डी केहि साता फुटबलको हेडलाइन बने । सिरिआमा खेलेको ३४ खेलमा २९ गोल गरेका इकार्डी २३ सदस्यिय टिममा परेनन्। अग्रपङ्तिमा रहेका लियोनेल मेस्सी, गोन्जालो हिग्वेन, पाउलो डिबाला र सर्जियो एग्युरो जस्ता खेलाडी रहेका कारण उनी विश्वकप टिममा स्थान बनाउन असफल भए।
सर्जियो रोमेरो- गोलकिपर (अर्जेन्टिना)
विश्वकपको अघिल्लो संस्करणमा अर्जेन्टिना उपविजेता बन्दा सर्जियो रोमेरोले प्रतियोगिता भरी नै उत्कृष्ट प्रदर्शन गरे। अघिल्लो महिनामात्र घुँडामा चोट बोकेका रोमेरो पूर्ण रुपमा फिट हुनका लागि कम्तिमा ६ हप्ता लाग्ने भएपछि उनी विश्वकप नखेल्ने पक्का भएको थियो।
डेविड लुइज- डिफेन्डर (ब्राजिल)
विश्वका उत्कृष्ट डिफेन्डर मध्येका एक डेविड लुइज पनि रसिया विश्वकपमा देखिएनन् । ब्राजिलका लागि ५० अन्तराष्ट्रिय खेल खेलिसकेका लुइज घुँडा र कुरकुच्चाको समस्याका कारण टिममा पर्न सकेनन्। ठूलो प्रतियोगितामा डेविड लुइज छुटेको यो दोस्रो पटक हो । यस अघि सन् २०१६ को कोपा अमेरिकामा पनि उनी टिममा परेका थिएनन्।
मार्कोस अलोन्सो- डिफेन्डर (स्पेन)
इंग्लिस क्लब चेल्सीका डिफेन्डर अलोन्सोले प्रिमियर लिगमा यो सिजन राम्रो प्रदर्शन गरे। रक्षा पङ्तिमा उत्कृष्ट प्रदर्शनसँगै उनले पछिल्लोे सिजनमा सात गोल पनि गरे। स्पेनको टिममा उनी नअटाउँदा केही आश्चर्यका प्रतिक्रिया समेत आएका थिए। तर, स्पेन टिममा उत्कृष्ट डिफेन्डरहरुको उपस्थितीका कारण उनले विश्वकप टिममा स्थान बनाउन सकेनन्।
डेनियल कार्भाहल- डिफेन्डर (स्पेन)
च्याम्पियन्स लिगको फाइनलमा खुट्टामा चोट लागेपछि ड्यानी कार्भाहलले यो विश्वकप गुमाए। स्पेनका उत्कृष्ट डिफेन्डर कार्भहलको ह्यामट्रिङमा चोट लागेको थियो। सन् २०१६ को युरोकप अघि पनि इन्ज्युरीका कारण गुमाएका कार्भाहल यस पटक पनि अभागी बने।
अल्भारो मोराटा- स्ट्राइकर (स्पेन)
चेल्सीका स्पेनिस स्ट्राइकर अल्भारो मोराटा पनि रसिया विश्वकपको टिममा परेनन् । मार्को असेन्सियो, लागो अस्पास, डिएगो कोस्टा, रोड्रिगो मोरोनो र लुकास भाज्क्वेज स्ट्राइकरका रुपमा छनोट भएपछि मोराटाले स्थान पाउन सकेनन्।
लेरोई साने- मिडफिल्डर (जर्मनी)
इंग्लिस प्रिमियर लिगको उत्कृष्ट युवा खेलाडीको उपाधि जितेका सानेले यो सिजन म्यान्चेष्टर सिटीका लागि १४ गोल र १९ एसिस्ट गरेका थिए। तर, उनको सो प्रदर्शनले जर्मनीका प्रशिक्षक जोचिम लोलाई प्रभावित गर्न सकेन। जर्मनी टिममा उत्कृष्ट खेलाडी भएका कारण सानेले स्थान नपाएको लोको प्रतिक्रिया थियो।
मारियो गोट्जे- मिडफिल्डर (जर्मनी)
सन् २०१४ को विश्वकप जर्मनीलाई जिताउनका लागि एकमात्र गोल गरेका मारियो गोट्जेको प्रदर्शनको खुबै तारिफ भयो। तर, उनले जर्मनीको २३ सदस्यि टोली भित्र आफ्नो नाम राख्न सकेनन् । जर्मनीमा पर्याप्त मात्रामा खेलाडीहरु रहेका कारण उनले स्थान बनाउन नसकेको प्रशिक्षक लोको भनाइ थियो।
सान्ड्रो वाग्नर- स्ट्राइकर (जर्मनी)
जर्मनीका स्ट्राइकर सान्ड्रो वाग्नरले अघिल्लो बर्ष अन्तराष्ट्रिय डेव्यू गरेका थिए। आठ खेलमा जर्मनीका लागि कुल ५ गोल गरिसकेका छन् । प्रशिक्षक जोचिम लोको अन्तिम २३ सदस्यिय टोलीमा अटाउन नसके पछि अन्तराष्ट्रिय खेलजिवनबाटै सन्यासको घोषणा गरेका थिए।
एलेक्स ओक्सेल च्याम्बरलिन-मिडफिल्डर (इंग्ल्याण्ड)
लिभरपुलको मिडफिल्डर एलेक्स ओक्सेल च्याम्बरलिन घुँडाको चोटका कारण विश्राममा छन्। च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा घुँडाको लिगामेन्टमा चोट लागेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४