काठमाडौं– नेपाली कांग्रेसको सभापतिका लागि ६ जनाले उम्मेदवारी दिएका छन्। जारी १४ औं महाधिवेशन अन्तर्गत आज (शनिबार) साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएकोमा सो समयभित्र ६ जनाको उम्मेदवारी दर्ता भएको हो।
वर्तमान सभापति शेरबहादुर देउवा र नेताहरु प्रकाशमान सिंह र डा. शेखर कोइरालाले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् भने उपसभापति विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले एकल उम्मेदवारी दिएका छन्।
देउवाको टिमबाट उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार छन् भने महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल।
वर्तमान सभापति देउवाले आफू दोहोरिने योजनासहित पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको साथ लिएर आफ्नो टिम तयार पारेका हुन्। महत देउवा र पौडेल सिटौला समूहका हुन्। देउवा समूहमा महामन्त्रीका लागि बालकृष्ण खाण, एनपी साउद र ज्ञानेन्द्रबहादुर कार्की पनि दौडमा थिए। तर, सिटौलाको साथ लिनुपर्ने भएपछि देउवाले पौडेललाई छानेका हुन्।
सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना, भीष्मराज आङ्देम्बे, मानबहादुर विश्वकर्मा, महेन्द्र यादव, किशोरसिंह राठौर, उमाकान्त चौधरी, फरमुल्लाह मन्सुर र जीवनबहादुर शाहीलाई उम्मेदवार बनाइएको सभापति देउवाको सचिवालयले जनाएको छ। चौधरी सिटौला समूहका हुन्।
केन्द्रीय सदस्यतर्फ केशवकुमार बुढाथोकी, श्याम घिमिरे, नारायण बहादुर कार्की, कृष्णबहादुर कार्की, गेहेन्द्र गिरी, प्रकाश अधिकारी, गोविन्दबहादुर शाह, मञ्जु खाण, नानु बास्तोला, चम्फा खड्का, कान्तिका सेजुवाल, लीला नेपाल र विद्या तिमिल्सिनालाई उम्मेदवार बनाउने निर्णय भएको छ।


शेखरको टिमबाट सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार, महिलातर्फ कमला पन्त, मधेशीतर्फ रामकृष्ण यादव, थारुतर्फ टिएल चौधरी, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, जनजातितर्फ विकास लामा र खसआर्यबाट देवराज चासिले सहमहामन्त्रीका उम्मेदवारी दिएका छन्। शेखरलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाको समर्थन छ।

उता, महेश आचार्यले उपसभापतिमा उम्मेदवारी दिएका छन्। उनको प्यानल खुलेको छैन।