काठमाडौं– नेपाली कांग्रेसको संस्थापन (शेरबहादुर देउवा) समूहले सभापतिसहित पदाधिकारीका उम्मेदवार टुंगो लगाएको छ। वर्तमान सभापति देउवाले आफू दोहोरिने योजनासहित पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको साथ लिएर आफ्नो टिम तयार पारेका हुन्।
देउवा समूहबाट उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्काको नाम तय भएको छ। गच्छदार अहिले पनि उपसभापति छन् भने पूर्णबहादुर खड्का महामन्त्री।
महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेलको नाम पक्का भएको छ। महत देउवा र पौडेल सिटौला समूहका हुन्। देउवा समूहमा महामन्त्रीका लागि बालकृष्ण खाण, एनपी साउद र ज्ञानेन्द्रबहादुर कार्की पनि दौडमा थिए। तर, सिटौलाको साथ लिनुपर्ने भएपछि देउवाले पौडेललाई छानेका हुन्।
सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना, भीष्मराज आङ्देम्बे, मानबहादुर विश्वकर्मा, महेन्द्र यादव, किशोरसिंह राठौर, उमाकान्त चौधरी, फरमुल्लाह मन्सुर र जीवनबहादुर शाहीलाई उम्मेदवार बनाउने निर्णय भएको सभापति देउवाको सचिवालयले जनाएको छ। चौधरी सिटौला समूहका हुन्।
केन्द्रीय सदस्यतर्फ केशवकुमार बुढाथोकी, श्याम घिमिरे, नारायण बहादुर कार्की, कृष्णबहादुर कार्की, गेहेन्द्र गिरी, प्रकाश अधिकारी, गोविन्दबहादुर शाह, मञ्जु खाण, नानु बास्तोला, चम्फा खड्का, कान्तिका सेजुवाल, लीला नेपाल र विद्या तिमिल्सिनालाई उम्मेदवार बनाउने निर्णय भएको छ।
उम्मेदवारी दर्ता गर्ने समय सकिन आधा घण्टाअघि साढे ४ बजे देउवा उम्मेदवारी दर्ताका लागि राष्ट्रिय सभामा पुगेका छन्।