काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जारी १४ औं महाधिवेशनमा आफ्नो टिमबाट महामन्त्रीको उम्मेदवारका लागि डा. प्रकाशशरण महत र प्रदीप पौडेललाई फाइनल गरेका छन्।
देउवाले नेता कृष्णप्रसाद सिटौलाको समूहलाई पनि मिलाएर आफ्नो प्यानल बनाउने भएका छन्। पौडेल सिटौलाको तर्फबाट महामन्त्रीको उम्मेदवार बन्न लागेका हुन्।
देउवा समूहबाट सहमहामन्त्रीका उम्मेदवारमा आदिवासी जनजातिमा भीष्मराज आङ्देम्बे, दलितमा मानबहादुर बिक, महिलामा डिना उपाध्याय, मधेशीमा महेन्द्र यादव, खस आर्यमा किशोरसिंह राठौर, थारुमा उमाकान्त चौधरी, मुस्लिममा फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही तय भएका छन्।
त्यस्तै खस–आर्यतर्फका केन्द्रीय सदस्यमा केशवकुमार बुढाथोकी झापा, श्याम घिमिरे सिन्धुली, नारायणबहादुर कार्की उदयपुर, कृष्णबहादुर कार्की नवलपरासी पूर्व, गेहेन्द्र गिरी दाङ, प्रकाश अधिकारी चितवन, गोविन्दबहादुर शाह अछाम छानिएका छन्।
खस–आर्यतर्फकै महिला केन्द्रीय सदस्यमा मञ्जु खाण रुपन्देही, नानु बास्तोला काठमाडौँ, चम्पा खड्का बागलुङ, कान्तिका सेजुवाल जुम्ला, लिला नेपाल सिन्धुपाल्चोक र विद्या तिमिल्सिना बाजुरालाई उम्मेदवार बनाउने निर्णय भएको देउवाको सचिवालयले जानकारी दिएको छ।
उपसभापतिका उम्मेदवारको भने टुंगो लागेको छैन। सभापतिमा देउवा निर्विकल्प उम्मेदवार छन्। देउवाको प्रस्तावक सिटौला हुने भएका छन्।