काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि शनिबार उम्मेदवारी कार्यक्रम चलिरहेको छ। हालसम्म सभापतिमा कल्याण गुरुङले उम्मेदवारी दर्ता गराएको भए पनि हालसम्म अन्य दाबेदारहरुले भने उम्मेदवारी दर्ता गराएका छैनन्। सभापतिका अन्य दाबेदारहरु शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि र शेखर कोइरालाले प्यानल बनाएर उम्मेदवारी घोषणा गर्ने भएका छन्।
सभापतिका चारै जना दाबेदारहरुले प्यानल बनाउनका लागि आन्तरिक छलफललाई निकै तीव्रता दिएका छन्। संस्थापन (देउवा) समूहबाट महामन्त्रीको सूचीबाट विश्वप्रकाशले 'आउट' भएपछि उनलाई सभापतिका अन्य उम्मेदवारहरुले आफ्नो समूहमा आउन आग्रह गरिरहेका छन्।
सभापति देउवा समूहबाट महान्त्रीमा प्रकाशरण महत र प्रदीप पौडेललाई अघि सार्ने तयारी भएपछि विश्वप्रकाश महामन्त्रीको सूचीमा नपरेका हुन्। शर्माले यसअघि भदौ २४ गते बीपी जयन्तीको अवसरमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका थिए। तर, सल्लाह नै नगरी घोषणा गरेको भन्दै उनीप्रति देउवा असन्तुष्ट बनेका थिए।
संस्थापन पक्षमा महामन्त्री नपाएका विश्वप्रकाशलाई शेखर कोइराला, सिंह र निधिले महामन्त्रीको उम्मेदवार बनाउने गरी छलफल गरिरहेका छन्। शेखर समूहबाट मिनेन्द्र रिजाल र गगन थापा महामन्त्री लड्ने गरी तयारी गरिरहेका छन्। तर, विश्वप्रकाश आउने अवस्थामा मिनेन्द्रलाई उपसभापति दिएर व्यवस्थापन गर्ने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ। त्यसैगरी प्रकाशमान र निधिले पनि उनलाई महामन्त्रीको अफर गरिरहेका छन्।
तर, विश्वप्रकाशले भने आफ्नो पहिलो रोजाइमा शेखरलाई राखेका छन्। उनी निकट स्रोतले भन्यो, 'विश्व दाइलाई तीनै जना सभापतिका उम्मेदवारहरुले महामन्त्री बन्न आग्रह गरिरहनु भएको छ। तर, उहाँले भने संस्थापनबाट नपाउने भएपछि पहिलो रोजाइमा शेखर, दोस्रोमा सिंह र तेस्रोमा निधिलाई राख्नुभएको छ।'
कांग्रेसको निर्वाचन समितिका अनुसार शनिबार बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिएको छ।