काठमाडौं- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफू सभापतिका लागि प्रतिस्पर्धा नगर्ने बताएका छन्। शनिबार पौडेलसँग छलफल गर्न बोहराटार पुगेका नेताहरुलाई आफू सभापतिको दौडमा नरहेको स्पष्ट पारेका हुन्।
नेताहरुसँगको छलफलमा वरिष्ठ नेता पौडेलले आफ्नो टिममा एकजनामात्रै उमेदवार हुनुपर्ने बताएका छन्। उनले एकजनाको नाममा सहमति जुटाउने र सहमति भएको व्यक्तिलाई स्वीकार गर्नुपर्ने बताएका हुन्।
उनले अहिले सभापतिमा शेरबहादुर देउवाको विकल्प चाहिएको भन्दै त्यसका लागि सबै त्याग गर्न तयार हुनुपर्नेसमेत बताएका थिए।
संस्थापनइतर समूहकै नेता प्रकाशमान सिंहले सुजाता कोइरालालाई उपसभापतिको उम्मेदवार बनाएर प्यानलसहित उम्मेदवारी दर्ताको तयारी गरिरहेका छन्।
यता शेखर कोइरालाले पनि उम्मेदवारी दिने तयारी गरिरहेका छन्। संस्थापनइतरले सभापतिका लागि साझा उम्मेदवार बनाउनका लागि लामो छलफल गरेको भए पनि कुनै एक व्यक्तिमा सहमति भने जुट्न सकेन।
संस्थापन पक्षको सभापतिमा शेरबहादुर देउवा हुने भए पनि पदाधिकारी टुंग्याउन भने सकस परिरहेको छ।