काठमाडौं - नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि प्रकाशमान सिंहले सभापति र सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवारी घोषणा गर्ने भएका छन्।
पौडेल समूहमा रहेका नेता सिंहले सिंहदरबार अगाडि रहेको यलम्बर पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरी उम्मेदवारी घोषणा गर्न लागेका हुन्।
महामन्त्री पदमा पनि कांग्रेस संस्थापन समूहबाट सरकार बाहिर रहेका नेतालाई आफ्नो प्यानलको उम्मेदबार बनाउने प्रयासमा सिंह रहेको बताइएको छ।
कांग्रेसको महाधिवेशन १४ औं महाधिवेशनको औपचारिक उद्घाटन शुक्रबार गरिएको थियो। शनिबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ।
हालसम्म कांग्रेस सभापतिमा कल्याण गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । भृकुटिमण्डपमा बिहान १० बजेदेखि नै उम्मेदवारको मनोनय दर्ता सुरु भएपछि गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्। सभापतिमा उम्मेदवारी दर्ता गराउने गुरुङ पहिलो हुन्।