काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार बिहान १० बजेदेखि मनोनयन दर्ताको समय सुरु भएको छ। कांग्रेस निर्वाचन कार्यतालिका अनुसार शनिबार बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्न सकिने छ।
उम्मेदवारी मनोनयन दर्ताको समय सुरु भइसक्दा पनि शीर्ष नेताहरू भने गुटगत छलफलमै व्यस्त रहेका छन्। सभापतिका आकांक्षी शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइरालालगायत नेताहरू आफू पक्षीय नेताहरूसँग छलफलमा जुटेका हुन्।
कांग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेल पक्ष आ-आफ्ना उम्मेदवार तय गर्न छलफलमा जुटेका छन्। सभापतिमा फेरि देउवा उठ्ने निश्चित भए पनि पदाधिकारी क-कसलाई उठाउने निर्णय हुन बाँकी रहेकोले देउवाले आफू निटक नेताहरूसँग छलफल गरिरहेका छन्।
देउवा आफू निकट नेताहरूसँग बालुवाटारस्थित प्रधानमन्त्री निवासमा छलफल गरिरहेका छन्। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग सहकार्य गर्नेबारे पनि बैठकमा छलफल हुने बताइएको छ।
सिटौलाले एक महामन्त्री र एक सहमहामन्त्री माग गर्दै आएका छन्। सिटौलाले प्रदीप पौडेललाई महामन्त्रीका रुपमा अगाडि सारेका छन्। तर, देउवा सिटौला समूहलाई सहमहामन्त्री मात्रै दिन चाहन्छन्। सिटौला समूहलाई महामन्त्री दिएमा आफ्ना विश्वास पात्र विश्वप्रकाश पौडेल र नेता एनपी साउदको व्यवस्थापनमा समस्या हुनेछ।
पदाधिकारीमा आकांक्षी धेरै भएकोले देउवालाई उम्मेदवार टुंगोमा पुर्याउन सकस परिरहेको छ। महामन्त्रीका आकांक्षी धेरै नेता छन्। प्रकाशशरण महत, बालकृष्ण खाण, विश्वप्रकाश शर्मा, एनपी साउद महामन्त्रीका आकांक्षी छन्। एक महामन्त्री सिटौला पक्षलाई दिँदा आकांक्षी व्यवस्थापन गर्न देउवालाई झनै सकस हुने छ।
उता साझा सभापति बनाउने बताउँदै आएको पौडेल पक्षले त झनै सभापतिको उम्मेदवारको नै टुंगो लगाउन सकेको छैन।
१३औं महाधिवेशनमा देउवासँग पराजित भएका पौंडेल पक्ष १४औं महाधिवेशनमा साझा उम्मेदवार बनाउने रणनीतिमा छ। तर, सभापतिका आकांक्षीले आफ्नो दाबी नछोडेका कारण अहिलेसम्म पनि कुनै निस्कर्ष निस्किन सकेको छैन।
पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला र नेता शेखर कोइरालाले सभापतिमा दाबी गरिरहेकाले पौडेल अप्ठ्यारोमा छन्।
उम्मेदवार तय गर्न बिहानैदेखि पौडेल निवास बोहराटारमा छलफल भने जारी छ। प्रकाशमान सिंह र शेखर कोइरालाले कसले कसलाई सभापति छाड्ने निर्णय गर्न नसक्दा झनै पौडेल अप्ठ्यारोमा परेका छन्।
सिंहले भने आज यलम्बर पार्टी प्यालेसमा कार्यक्रम गरेर सभापति उम्मेदवारी घोषणा गर्ने जनाइसकेका छन्। पौडेल पक्षमा सभापतिको नै टुंगो नलाग्दा अरु पदाधिकारी र उम्मेदवारको पनि सूचनी बन्न सकेको छैन।
महामन्त्रीमा मिनेन्द्र रिजाल र गगन थापाले उम्मेदवारी दिने तयारी गरेका छन्।
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका
शुक्रबार भृकुटीमण्डपमा उद्घाटन भई राति नै बन्दसत्र सकिएकोमा कांग्रेसको आज मनोयन दर्ता हुँदैछ।
केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्यसहित १ सय ६७ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयनको कार्यतालिका छ। मनोनयन राष्ट्रिय सभागृहमा हुनेछ।
मनोनयनमाथिको दाबीविरोध र नाम फिर्ता आइतबार हुनेछ भने सोमबार बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ।
कांग्रेसमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई र सहमहामन्त्री आठ पदका लागि निर्वाचन हुने व्यवस्था छ। केन्द्रीय कार्यसमितिमा निर्वाचित एक सदस्यलाई सभापतिको प्रस्तावमा कोषाध्यक्षमा मनोनीत गर्ने व्यवस्था विधानमा छ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्।