काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको छनोटका लागि आन्तरिक छलफल गरिरहेका छन्।
शनिबार बिहानैदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा आफू पक्षीय नेताहरू पदाधिकारी छनोटका लागि छलफलमा जुटेका हुन्।
बालुवाटारमा पदाधिकारीका दाबेदार नेताहरूसँग सभापति देउवाले छलफल गरिरहेको बताइएको छ। देउवा पक्षबाट उपसभापतिमा वर्तमान सभापति विजय गच्छदार, महामन्त्री पूर्णबहादुर खड्काले दाबी गरेका छन्।
महामन्त्रीमा गृहमन्त्री बालकृष्ण खाण, सहमहामन्त्री प्रकाशशरण मत, नेता एनपी साउद, सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र प्रवक्ता विश्वप्रकाश शर्माले दाबी गरिरहेका छन्।
नेता कृष्णप्रसाद सिटौला समूहले देउवा पक्षसँग सहकार्य गर्ने भएपछि देउवालाई आफू पक्षीय नेताहरूको व्यवस्थापनमा समस्या हुने देखिएको छ।
सिटौलाले महामन्त्रीमा प्रदीप पौडेललाई अगाडि सारेका छन्। सिटौलाले प्रदीपलाई महामन्त्रीमा सारेसँगै एनपी साउद, विश्वप्रकाश शर्मालाई कसरी व्यवस्थापन गर्ने भन्ने देउवालाई समस्या हुने देखिएको छ। तर, पनि नेताहरूबीच सहमति भएर नै अगाडि बढ्ने देउवा स्रोतले बताएको छ।
उता सभापतिको दाबेदारी प्रस्तुत गर्दै आएका कांग्रेसका नेता गोपालमान श्रेष्ठले पनि शेरबहादुर देउवालाई साथ दिने बताएका छन्।
यसअघि आफू पनि सभापतिको आकांक्षी बताउँदै आएका नेता गोपालमान श्रेष्ठले देउवालाई साथ दिने बताएका हुन्। उनी देउवाका विश्वासपात्र मानिन्छन्।