काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।
करिब तीन दशकदेखि कांग्रेस राजनीतिमा क्रियाशील सिंहले जारी १४औं महाधिवेशनमा आदिवासी जनजाति कोटाबाट उम्मेदवारी घोषणा गरेका हुन्।
२०४६ सालको पहिलो जनआन्दोलन, प्रतिगमनविरोधि २०६२–०६३ को दोस्रो जनआन्दोलनमा सक्रिय रहेका सिंहले नेपाली कांग्रेसका सभापतिका उम्मेदवार प्रकाशमान सिंहको टिमबाट उम्मेदवारी दिने बताए। सिंहले जेष्ठलाई सम्मान र युवाहरूलाई प्रोत्साहन गर्दै आफू चुनावी मैदानमा होमिएको बताए।
हाल नेपाली कांग्रेसको जनजाति विभाग केन्द्रीय सदस्य रहेका सिंह देशभरका करिब १३ हजार निर्माण व्यवसायीको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्षसमेत हुन्।