काठमाडौं– मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिगमा सबैभन्दा पहिला १० अंक जोड्ने क्लब बनेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार दिउँसो फ्रेन्ड्स क्लबलाई २–० गोलअन्तरले हराउँदै मनाङले चार खेलबाट १० अंक बनाएको हो।
मनाङको जितका लागि ओलावाले अफिज र दिनेश राजवंशीले गोल गरे। यता आफूले सुरुमै पाएको अवसर सदुपयोग गर्न नसकेपछि र डिफेन्डरले गल्ती गरेपछि गोल बेहोर्नुपरेको फ्रेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले खेलपछि बताएका छन्। उनले भने, ‘सुरुमा अवसर पाएको हो। सुरुको अवसर सफल नहुँदा गोल भयो। दुवै गोल डिफेन्सको मिस्टेकले भएको हो। त्यो गोलका लागि मनाङको तीन टचमा नै गोल भयो। हाम्रो डिफेन्सको गल्ती भयो।’
खेलको आठौं मिनेटमा फ्रेन्ड्सले पेनाल्टी बक्सभित्र फ्रि किकको अवसर पाए पनि उसले सदुपयोग गर्न सकेको थिएन। खेलको २८ औं मिनेटमा मनाङका कप्तान अन्जन विस्टले २५ यार्डबाट गरको क्रसलाई फ्रेन्ड्सका डिफेन्डरले क्लियर गरिदिएका थिए। यता, ३८ औं मिनेटमा भने मनाङले गोलको सुनौलो अवसर गुमायो। दिनेश राजबंशीले दिएको पासलाई फरवार्ड ओलावालेले छ यार्ड बक्स भित्रबाट गरेको प्रहार गोलकिपर रामचन्द्र यादवले बचाएका थिए।
तर ४१ औं मिनेटमा मनाङले कुनै गल्ती गरेन। अन्जनले पोस्टको बायाँबाट दिएको पासलाई सदुपयोग गर्दै ओलावालेले हेडर प्रहारमार्फत् गोल गरे। फ्रेन्ड्स खेलाडी डिफेन्समा राम्रो प्रदर्शन गर्न नसक्दा ओलावालेले सहजै गोल गरेका थिए।
ओलावालेको गोलको मुभअघि फ्रेन्ड्सले अट्याकिङ थर्डमा बल पोससन बनाए पनि गोल गर्न चुकेको थियो। सोहि क्रममा डिफेन्समा सफल भएको मनाङले फ्रेन्डसले क्लबबिरुद्ध गोल गरेको हो।
त्यो गोललाई अंकित गर्दै फ्रेन्ड्सका प्रशिक्षक मृगेन्द्र मिश्रले खेलाडीमा मार्किङको समस्या देखिएको बताएका छन्। उनले भने, ‘अरु त राम्रै हो, हाम्रो खेलाडीहरुमा मार्किङ समस्या देखियो।’
दोस्रो हाफको ५४ औं मिनेटमा कप्तान विष्टले पोस्ट नजिकैबाट फितलो प्रहार गरेपछि गोलकिपर यादवले सहजै बचाए। २६ औं मिनेटमा ओलावालेले पोस्टको दायाँतिरबाट गरेको प्रहार गोलकिपर यादवले मुश्किलले बचाएका थिए, उनले बचाएको बल फ्रेन्ड्सका खेलाडीले क्लियर गरे। त्यसको अर्को मिनेटमा पाएको फ्रि किकबाट मनाङले सेट पिसमा गोल गर्यो। २५ यार्डबाट पुजन उपरकोटीको फ्रिकिकमा दिनेशले गोल गरेर मनाङको अग्रतालाई दोब्बर बनाएका थिए।
जारी लिगमा दिनेशको यो दोस्रो गोल हो। एडिलेजा सोमिडेले ८२ औं मिनेटमा गरेको प्रहार भने गोलकिपरले बचाएका थिए। यता खेलको ७८ औं मिनेटमा फ्रेन्ड्सका रोनेल एन्थोनी पलले गरेको गोल पोस्टको नजिकैबाट बाहिरिएको थियो। खेलको ८७ औं मिनेटमा फ्रेन्ड्सले गरेको गोल भने अफसाइड रह्यो। त्यो गोल आफसाइड नदेखिएको फ्रेन्ड्कास प्रशिक्षक मिश्रले दावी गरेका छन्। उनले भने, ‘त्यो बल डिफ्लेक्ट भएको छ। त्यो बल कसरी अफसाइड रह्यो भन्ने मेरो प्रश्न छ। तर पनि रेफ्रीको डिसिजन हो।’ गोलले मान्यता नपाएपछि मनाङले लिगको चौथो खेलमा सहज जित निकाल्दै अंकतालिकामा १० अंक बनाएको हो।
खेलपछि मनाङका नाइजेरियन प्रशिक्षक फुजा तोपेले खुसी व्यक्त गरेका छन्। उनले भने, ‘धेरै राम्रो भयो। टिमले जित्यो त्यो नै राम्रो हो। हामीसँग अझै राम्रो आशा गर्न सकिने टिम छ। मैले धेरै कराएँ। त्यो खेलमा आवश्यक पनि थियो।’
अहिलेसम्म मनाङले पहिलो खेलमा जवालखेलविरुद्ध साँघुरो जित निकालेको थियो भने दोस्रो खेलमा हिमालयन शेर्पालाई पनि १–० गोलअन्तरले हराएको थियो। त्यस्तै, तेस्रो खेलमा भने उसले संकटा क्लबसँग २–२ गोलको बराबरी खेलेको थियो।
मनाङको टिमले उनले तेस्रो खेलपछि मात्र हेर्न थालेका हुन्। टिक कस्तो छ त ? जवाफमा फुजाले भने, ‘टिम मेन्टल्ली र फिजिकल्ली फिट भइसकेको छैन्। मैले पहिला पनि हेरिरकेको त थिएँ। दुई जित थियो। तर म हाम्रो टिमको खेलमा खुसी थिइनँ।’
यता फ्रेन्ड्स क्लबले पनि पहिलो खेलमा सातदोबाटोसँग बराबरी खेलेको थियो भने दोस्रो खेलमा संकटासँग हार बेहोरेको थियो। तेस्रो खेलमा थ्रिस्टारसँग बराबरी खेलेको फ्रेन्ड्सले चौथो खेलमा हार बेहोरेको हो। ‘हाम्रो तीन खेलाडीमा इन्ज्युरी समस्या छ। प्रकास बुढाथोकी, प्रिजेन तामाङ र जमललाई चोट लागेको छ,’ खेलपछि मिश्रले भने, ‘हाम्रो बेञ्च खालि हुँदै गएको छ, त्यहाँ खेलाडीको कोटा त छ। तर दता ढिलो भएकाले नखेलाएको हो। अब बेञ्चको समस्या पनि समाधान हुन्छ।’
प्रशिक्षक फुजाले तीन वर्षदेखि मनाङको टिम सम्हालिरहेका छन्। आफ्नो पहिलो सिजनमै उनले टिमलाई लिगको च्याम्पियन बनाएका थिए। नाइजेरियाका धेरै खेलाडी नेपालमा आएर खेल्ने गरे पनी उनले आफू नेपालमा आएर नखेलेको बताएका छन्।
उनले भने, ‘मैले नेपालमा खेलिनँ। मैले आफ्नो देशमा खेलेँ। १९८५ मा यू १६ विश्वकप खेलेको थिएँ। म मलेसियाबाट नेपाल आएको हो। सुरुमा मछिन्द्रमा खेलाएँ। त्यसपछि भारतका केही टिमहरु सम्हालेँ। अहिले तेस्रो पटक मनाङ टिममा आइपुगेको छु।’