काठमाडौं– लामो समयपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एउटै मञ्चमा देखिएका छन्।
नेपाली कांग्रेसको चौधौं महाधिवेशन उद्घाटन समारोहको मञ्चमा तीन नेता एकसाथ देखिएका हुन्। एमाले अध्यक्ष ओली करिब एक घण्टा ढिलो गरी कांग्रेसको महाधिवेशन स्थल भृकुटीमण्डप पुगेका थिए।
भृकुटीमण्डप पुग्नुअघि ओलीले ओलीले प्रज्ञा भवनमा बागमती प्रदेश कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा राजनीतिक पार्टी भनेको नेकपा एमाले र नेपाली कांग्रेसमात्र रहेको बताएका थिए। एमाले प्रमुख पार्टी भएको र कांग्रेसलाई सही बाटोमा ल्याउनु एमालेको दायित्व रहेको ओलीको भनाइ थियो।
ओलीले आफू कांग्रेस महाधिवेशनमा शुभकामना दिन जान लागेको र उसलाई सही बाटोमा हिँड्न सम्झाउने समेत बताए। ओलीले भने, ‘कांग्रेस पुरानो पार्टी हो। त्यसलाई लोकतान्त्रिक मूल्य मान्यतामा हिँडाउने कोसिस गर्नु हाम्रो कर्तव्य हो। नत्र एमाले एक्लै हुन्छ। अरु त राजनीतिक पार्टी नै होइनन्, पृथ्वीका वरिपरि धेरै स्याटेलाइट हुन्छन् तर ती स्टार होइनन्। ।
यसअघि एउटै पार्टी नेकपामा रहेका ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा रहेको यो पहिलोपटक हो। पार्टी विभाजनपछि एकअर्काको अस्तित्व अस्वीकार गरिरहेका उनीहरु एउटै मञ्चमा देखिन कांग्रेस महाधिवेशनको साइत जुरेको छ।
गत वर्ष पुस ५ गते पहिलो पटक तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा घटन गरेसँगै उनी र प्रचण्ड एउटै मञ्चमा देखिन छाडेका छन्। साथै एमाले फुटाएर नयाँ पार्टी खोलेका माधवकुमार नेपालसँग पनि ओलीको कटु सम्बन्ध छ। आजको कार्यक्रममा ओली, दाहाल र नेपाल एउटै मञ्चमा देखिने अपेक्षा गरिएको थियो। तर, कार्यक्रम सुरु भएको आधा घण्टा बित्न लाग्दा पनि ओली कार्यक्रमस्थल पुगेका छैनन्।
हालै चितवनमा सम्पन्न एमालेको दसौं महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भए पनि प्रचण्ड सहभागी भएका थिएनन्। माओवादीले स्थायी कमिटी सदस्य लीलामणि पोखरेललाई उद्घाटन समारोहमा पठाएको थियो। एकीकृत समाजवादी पार्टीलाई त एमालेले निम्तो नै पठाएको थिएन।