काठमाडौं- 'कहिलेकाहीँ राजनीति गर्नेहरुलाई मिडिया र सामाजिक सञ्जालमा गाली र आलोचना गरेको सुन्दा मलाई आत्महत्या गरौंजस्तो लाग्छ। नेताहरुले अब अरुको निन्दा होइन, आत्मालोचना गरेर आफूमा परिवर्तन गर्नुपर्छ। हामी राजनीतिमा किन छौं ? के यो पेशा हो ? व्यापार हो? राजनीति भनेको छ देशको सेवा हो,' नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले २०७२ फागुन २० गते १३ औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै भनेका थिए।
१३ औं महाधिवेशनका कार्यक्रम चलिरहेकै समयमा तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि गुटलाई एकत्रित गर्न नसकेको र आकांक्षीहरु बढी हुँदा र भनेको नसुन्दा समूहमा चर्को आलोचना हुँदै सिटौलाले विद्रोह गरेपछि पौडेल हैरान भएका थिए। उनले संविधान निर्माणपछि भएको प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्दा १७ पटकसम्म पराजित भएको निराशा पनि कायमै थियो। यी सबै असन्तुष्टिको गठजोडपछि पौडेलले उक्त अभिव्यक्ति दिएका थिए।
१४औं महाधिवेशनमा पनि सुरुमा आफूलाई साझा उम्मेदवार बनाउनुपर्ने कसरतमा लागेका पौडेलले आफ्नो समूहमा साझा उम्मेदवारका लागि कुनै सहमति नै जुट्न नसक्दा उनी निराश बनेका हुन्। पौडेलले बुधबार प्रकाशमान सिंह निवास चाक्सीबारीमा सहमति नजुटेपछि बिरक्तिँदै भावुक मुद्रामा भनेका थिए, 'तपाईंहरूले मेरो नेतृत्व स्वीकार गर्नुभएन, आपसमा पनि सहमति गर्नु भएन, अब म पार्टीबाट अलग हुन्छु, महाधिवेशनमा पनि आउँदिनँ।'
पौडेललाई टिम भत्किन्छ भन्ने चिन्ता छ। टिमलाई एक ढिक्का राख्नका लागि आफू छोड्नसमेत तयार भएका पौडेलले आफूनिकट केन्द्रीय सदस्य, प्रदेशमा जितेका सभापति र उम्मेदवार, जिल्ला सभापति, निवर्तमान जिल्ला सभापति र केही महाधिवेशन प्रतिनिधिहरूसँग पनि राय लिएका छन्, तर पार लाग्न सकेको छैन।
महामन्त्री शशांक कोइराला र आफू पछि हट्दासमेत संस्थापन इतरमा सहमति जुट्न नसक्दा पौडेल बिरक्तिएका हुन्। उनी बुधबार पार्टीको १३ औं केन्द्रीय समितिको अन्तिम बैठकमा पनि सहभागी भएनन् भने संस्थापन इतर समूहका बैठकहरुमा पनि अनुपस्थित रहे। पौडेल नै अनुपस्थित भएपछि सभापतिमा दाबी गरिरहेका प्रकाशमान र शेखरले पनि आ-आफ्नो दाबीबाट पछि नहटेको बताए।
सभापतिमा दाबी गरिरहेका शेखर भने बुधबार बिहान लचिलो देखिएका थिए। उनले बुधबार बिहान बोहराटार पुगेर वरिष्ठ नेता पौडेललाई भने, 'प्रकाशमान छोड्ने हो भने म पनि तपाईंका लागि पछि हट्न तयार छु। तपाईं सभापति बन्नुस्।' तर, प्रकाशमान पछि नहट्ने हो भने आफूले उम्मेदवारी दिने भएकोले सहयोग गर्न पौडेलसँग आग्रह गरे। तर, पौडेलले भने आफू साझा उम्मेदवारको पक्षमा नै रहेको बताएका थिए।
महामन्त्री शशांक कोइराला र आफू पछि हट्दासमेत संस्थापन इतरमा सहमति जुट्न नसक्दा पौडेल बिरक्तिएका हुन्। उनी बुधबार पार्टीको १३ औं केन्द्रीय समितिको अन्तिम बैठकमा पनि सहभागी भएनन् भने संस्थापन इतर समूहका बैठकहरुमा पनि अनुपस्थित रहे।
महाधिवेशनको औपचारिक उद्घाटन हुनुभन्दा दुई घण्टाअघि सञ्चारकर्मीसँग कुरा गर्दै उपसभापतिसमेत रहेका सभापतिका उम्मेदवार विमलेन्द्र निधिले पनि पौडेलको नाममा सहमति हुन्छ भने आफू बाधक नबन्ने बताए। उनले भने, 'रामचन्द्र पौडेललाई सर्वसम्मत बनाउन सकिन्छ भने प्रयास गरौँ, सर्वसम्मति हुन्छ भने म बाधक बन्दिनँ। शेरबहादुर देउवाले रामचन्द्रलाई प्रस्ताव गरे म बाधक बन्दिनँ, नभए मेरो उमेदवारी कायम रहन्छ।'
१४ औं महाधिवेशनमा जसरी पनि देउवालाई रोक्नुपर्ने विषयमा संस्थापन बाहिरका सबै नेताहरु एकमत छन्। तर, सभापति आफू नै बन्नुपर्ने अडानका कारण देउवालाई रोक्ने अभियान असफलजस्तै बनेको छ। उता १३ औं महाधिवेशन र अहिलेको १४ औं महाधिवेशनमा जिल्ला र प्रदेशमा देउवासँग सहकार्य गरेका कृष्णप्रसाद सिटौलाले १४ औं महाधिवेशनमा पनि देउवालाई नै सहयोग गर्ने संकेत दिएका छन्। यद्यपि उनी अझै पावर सेयरिङको बार्गेनिङमा छन्।
संस्थापन इतरका सभापतिका उम्मेदवार प्रकाशमान सिंह भने कुनै हालतमा पछि नहट्ने संकेत देखाएका छन्। सिंहलाई भेट्न बिहीबार राति उपसभापतिका उम्मेदवार महेश आचार्य र महामन्त्रीका उम्मेदवार मीनेन्द्र रिजाल चाक्सीबारी गएका थिए। उनीहरुलाई आफू कुनै पनि हालतमा ब्याक नहुने जवाफ सिंहले दिए।
शुक्रबार बिहान पनि दोस्रो तहका नेताहरु साझा उम्मेदवार तय गर्नुपर्ने विषयमा नै केन्द्रित भएका छन्। उनीहरुले सिंहले नमानेको अवस्थामा रामचन्द्रलाई नै साझा उम्मेदवार बनाएर प्यानल घोषणा गर्ने विकल्पका विषयमा पनि छलफल गरिरहेका छन्। पौडेल समूहका एक नेताले नेपाल समयसँगको कुराकानीमा भने, 'वडादेखि नै प्रदेश र महाधिवेशन प्रतिनिधिहरु पौडेलकै नाममा जितेर आउनु भएको छ। अहिलेसम्म पौडेललाई नै संस्थापन इतरको सर्वसम्मत नेता मानिरहेका छौं। त्यसैले अन्य नेताहरुमा सहमति जुट्न नसकेको अवस्थामा पौडेललाई अघि सारेर प्यानल घोषणा गर्ने विषयमा पनि छलफल भइरहेको छ।'
अहिले साझा उम्मेदवार तयका विषयमा छलफल गर्न नेताहरू पौडेल निवास बोहोराटार पुगेका छन्। अहिले पौडेलसँग छलफल गर्न अर्जुननरसिंह केसी, बलबहादुर केसी, मीनेन्द्र रिजाल र महामन्त्रीका प्रत्याशी गगन थापा पौडेल निवास पुगेर छलफल गरिरहेका छन्। संस्थापन पक्षबाट भने सभापतिमा देउवा दोहोरिने भएका छन्।
शुक्रबार १ बजेदेखि महाधिवेशनले आगामी ५ वर्षका लागि नयाँ नेतृत्वसहित १ सय ३४ सदस्यीय कार्यसमिति चयन गर्नेछ भने अन्य ३५ जना खुला केन्द्रीय सदस्य मनोनित हुनेछन्।
पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन २४ गते बिहान १० बजे भएको छ। उम्मेदवार मनोनयन दर्ता शनिबार बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ मंसिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मंसिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ।