बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • महाधिवेशन सुरु हुनै लाग्दा पनि टुंगिएनन् सभापति र पदाधिकारीका उम्मेदवार

महाधिवेशन सुरु हुनै लाग्दा पनि टुंगिएनन् सभापति र पदाधिकारीका उम्मेदवार

महाधिवेशन सुरु हुनुभन्दा पाँच महिना अघिदेखि नै संस्थापन इतरले सभापतिको साझा उम्मेदवार बनाउनका लागि छलफल सुरु गरेको भए पनि साझा उम्मेदवारमा सहमति हुन सकेको छैन।
 |  शुक्रबार, मंसिर २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २४, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार दिउँसो १ बजे उद्घाटन हुने भएको छ। महाधिवेशन उद्घाटन सुरु हुन केही घण्टामात्रै बाँकी रहँदासमेत सभापति र पदाधिकारीका उम्मेदवार टुंगिएका छैनन्।

संस्थापन (सभापति शेरबहादुर देउवा) समूहबाट सभापतिमा देउवा नै निर्विकल्प भए पनि उनको प्यानलका पदाधिकारी को हुने भन्‍ने टुंगो लाग्‍न सकेको छैन। संस्थापन इतरमा त सभापतिका उम्मेदवार नै कतिजना भन्‍ने टुंगो लाग्‍न सकेको छैन। 

अर्कोतर्फ कांग्रेसभित्र तेस्रो धारको नेतृत्व गरिरहेका कृष्णप्रसाद सिटौलाले पनि सभापतिमा उम्मेदवारी दिने कि नदिने भन्‍ने विषय टुंग्याउन सकेका छैनन्। सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका विमलेन्द्र निधिले पनि आफूले प्यानल बनाउने बताउँदै आएको भए पनि उनको प्यानलका पदाधिकारी को हुने भन्‍ने टुंगो छैन। 

महाधिवेशन सुरु हुनुभन्दा पाँच महिना अघिदेखि नै संस्थापन इतरले सभापतिको साझा उम्मेदवार बनाउनका लागि छलफल सुरु गरेको भए पनि साझा उम्मेदवारमा सहमति हुन सकेको छैन। गत सोमबारदेखि संस्थापन इतरमा सभापतिको साझा उम्मेदवार टुंग्याउन निरन्तर छलफल भइरहेका छन्। तर, छलफलमा साझा उम्मेदवार आफूलाई बनाउन प्रकाशमान सिंह र शेखर कोइरालाले अडान राखेपछि समस्या थप बल्झिएको हो। 

संस्थापन इतर समूहमा सभापतिको टुंगो नलाग्दा महामन्त्रीका उम्मेदवार मीनेन्द्र रिजालले शुक्रबार बिहान पत्रकारहरुसँग कुरा गर्दै पीडा व्यक्त गरे। भने, 'म महामन्त्रीको उम्मेदवार हुँ र अहिले शीर खोजिरहेको छु। वास्तवमा भन्दा मुर्कुटा टिमको महामन्त्रीको उम्मेदवार हुनुपर्ला जस्तो छ।' 

संस्थापन इतर समूहमा महामन्त्रीका अर्का उम्मेदवार गगनकुमार थापाले पनि साझा उम्मेदवारका लागि अन्तिमसम्म प्रयास गर्ने र सम्भव नभए पदाधिकारीमा सहमति गरेर अघि बढ्ने बताएका छन्। सभापतिका उम्मेदवार कति जना हुने र कस्तो किसिमको प्यानल बन्‍ने भन्‍ने अन्योलका कारण संस्थापन इतरमा अन्य पदाधिकारीका आकांक्षीहरु खासै खुल्‍न सकेका छैनन्। शीर्ष नेतृत्वकै कारण उनीहरुलाई पर्ख र हेरको अवस्थामा बस्नुपर्ने बाध्यता रहेको छ।

महाधिवेशन सुरु हुनुभन्दा पाँच महिना अघिदेखि नै संस्थापन इतरले सभापतिको साझा उम्मेदवार बनाउनका लागि छलफल सुरु गरेको भए पनि साझा उम्मेदवारमा सहमति हुन सकेको छैन।

बुधबारको बैठकमा सहमतिबाट साझा उम्मेदवार तय गर्न नसकेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले भावुक हुँदै राजनीतिबाट अलग हुने चेतावनी दिएका थिए। उनी बिहीबारको १३ औं केन्द्रीय समितिको अन्तिम बैठकमा समेत सहभागी भएनन्। बिहीबार संस्थापन इतरका बैठकहरुमा पनि पौडेल उपस्थित भएनन्। 

बिहीबार बिहान शेखर पौडेललाई भेट्न बोहोराटार नै पुगे र आफूलाई सहयोग गर्न आग्रह गरे। जवाफमा पौडेलले साझा उम्मेदवारका लागि प्रयास गर्ने बताए। साझा उम्मेदवारकै प्रयासका लागि बिहीबार राति महामन्त्रीका उम्मेदवार मीनेन्द्र रिजाल र उपसभापतिका उम्मेदवार महेश आचार्य चाक्सीबारीस्थित प्रकाशमान सिंह निवास पुगेका थिए। उनीहरुले सिंहलाई सहमतिमा आउन आग्रह गरेको भए पनि जवाफमा सिंहले आफू ब्याक नहुने प्रतिक्रिया दिए। 

१४ औं महाधिवेशनबाट कुनै पनि हालतमा देउवालाई सभापतिमा दोहोरिन नदिने विषयमा संस्थापन एकमत भए पनि आफ्नो पक्षबाट साझा उम्मेदवार तय गर्न संस्थापन इतर समूहलाई महाभारत भएको छ। जसका कारण चारै जना रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालाले उम्मेदवारी दिन सक्ने सम्भावना बढ्दै गएको छ। तर, युवा नेताहरुले भने जसरी पनि साझा उम्मेदवार तय गर्नुपर्ने दबाब कायमै राखेका छन्। 

संस्थापन इतर समूहका महेश आचार्य, चन्द्र भण्डारी र धनराज गुरुङले उपसभापतिका लागि दाबी गरिरहेका छन्। त्यसैगरी दिलेन्द्र प्रसाद बडु, चित्रलेखा यादवलगायतले पनि पदाधिकारीमा दाबी गरिरहेका छन्। सभापति नटुंगिदा संस्थापन इतर समूहका उपसभापति, महामन्त्री, सहमहामन्त्रीलगायतका पदाधिकारीका दाबेदारहरु समस्यामा परेका हुन्।

देउवा समूहले पनि अन्य पदाधिकारीहरुको टुंगो लगाउन सकेको छैन। उपसभापतिमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का आकांक्षी देखिएका छन्। त्यसैगरी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका गोपालमान श्रेष्ठलाई पनि उपसभापतिमा नै सेटल गर्न देउवा कसरतमा छन्। महामन्त्रीमा  ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाण, प्रकाशशरण महत, एनपी साउद र विश्वप्रकाश शर्माले दाबी गरिरहेका छन्। आठ सहमहामन्त्रीका लागि पनि दोब्बर आकांक्षी छन्। 

कृष्ण सिटौलासँग सहकार्य गर्ने रणनीति बनाएका देउवाले सिटौला समूहका नेताहरुलाई पनि व्यवस्थापन गर्नुपर्ने चुनौती छ। सिटौला समूहले महामन्त्रीका लागि देउवासँग छलफल गरिरहेको छ। महामन्त्रीका आकांक्षी मिलाउन आफ्नै टिमभित्र संकटमा परेका देउवाले सिटौला समूहलाई महामन्त्री दिने सम्भावना भने कम देखिएको छ। सिटौला पक्षबाट प्रदीप पौडेलले महामन्त्रीमा दाबी गरिरहेका छन्। 

प्रकाशित: Dec 10, 2021| 11:58 शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...