काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले गृहमन्त्री बालकृष्ण खाण र आफू एकै पदमा प्रतिस्पर्धी भएको बताएका छन्। उनले आफू १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने बताएका हुन्।
गृहमन्त्री खाणले पनि महामन्त्री पदमा नै उम्मेदवारी दिने बताएका छन्। 'गृहमन्त्री र म दुवै एकै पदमा प्रतिस्पर्धी हौं। म महामन्त्री उठ्ने हो। महामन्त्रीबाहेक अरू पदमा उठ्दिनँ,’ संस्थापन इतरबाट महामन्त्री उठ्न लागेका रिजालले भने।
रक्षामन्त्रीसमेत रहेका रिजालले देश शेरबहादुर देउवाकै नेतृत्वमा चुनावमा जानुपर्ने धारणा पनि राखेका छन्। 'म आज्ञाकारी रक्षामन्त्री हुँ। प्रधानमन्त्रीप्रति बफादार छु। तर, यही अनुहारलाई लिएर जाँदा कांग्रेसलाई जनताले पत्याउँदैनन्। फरक अनुहार लिएर जानुपर्छ,' उनले भने। उनले आफूले कांग्रेसमा समन्वयकारी भूमिका निर्वाह गर्नुका साथै कुशल प्रतिपक्षको भूमिका निभाएको बताएका छन्। यही कारण सबै मतदाताले आफूलाई चिनेको र महामन्त्रीमा निर्वाचित गराउन रिजालको आग्रह छ।
उनले यस पटक सभापतिमा दोस्रो पटक चुनाव नहुने बताएका छन्। ५१ प्रतिशत पुर्याउन अढाई सय मत कम रहेको बताउँदै उनले त्यो मत कतातिर छ भन्ने थाहा नभएको धारणा राखे। उनले पार्टी नेतृत्वका लागि त्यही मत नै निर्णायक हुने बताएका छन्।
'महामन्त्रीको उम्मेदवार हुँ। मेरो दोस्रो राउन्ड हुँदैन। आज महामन्त्रीको उम्मेदवार हुँ अहिले शिर खोजिरहेको छु। ठट्यौली पारामा भन्दा मुर्कुटा टिमको महामन्त्रीको उम्मेदवार हुनुपर्ला जस्तो छ। इतर समूहमा दोस्रो चरणमा गए म जित्छु,' उनले भने। चुनाव नजिते राम चन्द्र पौडेलको भूमिकामा आफू पुग्ने उनको दाबी छ।
उनले अर्धचेतन मनमा लागेर अहिले शिर खोज्न अप्ठ्यारो परिरहेको बताएका छन्। 'देउवासँग ५० प्रतिशत मत छैन। हाम्रो अनिर्णयले देउवाजीलाई सहयोग पुग्ला कि भन्ने चिन्ता छ। हिजो रातभर १२ बजेसम्म रामचन्द्र पौडेललाई उम्मेदवार बनाउन सकिन्छ कि भनेर प्रयासरत थियौं,' उनले भने।