बिहीबार, भदौ ४, २०८३

पिठ्युँमा छोरी बोकेर महाधिवेशनस्थलको फोहोर सफा गर्छिन् रुमा

त्यही घुइँचोको बीचमा पिठ्युँमा सानी नानी, हातमा झाडु अनि मुखमा कालो मास्क लगाएर फोहोर उठाउँदै गरेकी रुमा देउला भेटिइन्।
 |  बिहीबार, मंसिर २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

काठमाडाैंबिहीबार नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन स्थल भृकुटीमण्डप हेर्न आउनेहरूको घुइँचो थियो। त्यही घुइँचोको बीचमा पिठ्युँमा सानी नानी, हातमा झाडु अनि मुखमा कालो मास्क लगाएर फोहोर उठाउँदै गरेकी रुमा देउला भेटिइन्।

महाधिवेशन स्थल हेर्न आएका अधिकांश मानिसहरूको अनुहारमा छुट्टै उमङ्ग थियो, खुसी अनि रमाएका देखिन्थे। तर, नौ महिने दुधे छोरी पिठ्युँमा बोकेर फोहोर उठाउँदै हिँडेकी देउलाको अनुहारमा भने उमङ्ग हैन, जिम्मेवारी र बाध्यताको पिरलो देखिन्थ्यो। 

काभ्रे घर भई विगत ११ वर्षदेखि काठमाडाैं बस्दै आएकी देउला महाधिवेशन स्थलमा फोहोर उठाउन आएकी हुन्। आर्थिक अवस्था कमजोर भएकै कारण उनी नौ महिने छोरी पिठ्युँमा बोकेर महाधिवेशन स्थलको फोहोर उठाउन हुन्। उनले फाेहाेर उठाएवापत दैनिक ६०० रुपैँयामा पाउँछिन्। 

‘मेरो श्रीमान् पनि फोहोर उठाउनु हुुन्छ। म पाएसम्म ज्याला मजदुुरी गर्थेँ, मेला जान्थेँ। अहिले यतिकै बसिरहेके थिएँ आमाजूले फोहोर उठाउन जाऔँ भन्नुभयो। यहाँ काम गरे पैसा कमाइन्छ, त्यसैले आएँ’, उनी भन्छिन्।

सानी छोरीको हेरचाह गर्न घरमा कोही नभएपछि बोकेरै उनी काममा आएको बताइन्। गरिबी र जिम्मेवारीको भारीले थिचेपछि पिठ्युुँमा छोरी बोकेर काम गर्दा पनि उनलाई गाह्राे महसुस भने नभएको बताउँछिन्। उनी भन्छिन्, ‘गाह्राे भएको छैन। काम गर्नै पर्‍याे। घरमा छोरी हेर्नेे मान्छे छैनन्। काम पाएको बेला नगरी भएन त्यसैले बोकेर आएको।’

देउलाकी १० वर्षीया अर्की छोरी पनि छिन्। उनी काठमाडाैंकै एक विद्यालयमा कक्षा चारमा पढ्छिन्। दुई छोरीसहित देउलीको परिवारमा चारजना छन्। उनीहरूको परिवारको हात मुख फोहोर उठाएर आएको पैसाले नै जोडिन्छ। यसबाहेक उनीहरूको अन्य कुुनै आयस्रोत छैन्। उनी भन्छिन्, ‘अरुले यस्तै कार्यक्रमहरूमा फोहोर उठाउने जिम्मा लिन्छन्, बुढा त्यहीँ काम गर्नुहुन्छ। म पनि मिलेसम्म गर्छु। यसैले घरखर्च चलाइरहेका छौँ।’

कांग्रेसको महाधिवेशन नभएको भए अहिले रुमा कोठामै बसिरहेकी हुन्थिन्। तर, महाधिवेशन भएकाले काम पाएपछि उनी दंग छिन्। ‘आज बिहान ७ बजेदेखि आएको हो। बेलुका ५ बजेसम्म काम गर्छु। कार्यक्रम नसकिएसम्म सधैँ यही काम गर्न आउने हो। दिनको ६०० रुपैँया कमाइ हुन्छ। जम्माजम्मी  तीन/चार हजार कमाइन्छ होला’, उनी सुनाउँछिन्। -अश्विन दानी/न्यूज कारखाना


प्रकाशित: Dec 09, 2021| 22:05 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...