काठमाडौं- नेपाली काँग्रेसले १४ औँ महाधिवेशनको उद्घाटनलगायतका कामको तयारी अन्तिम चरणमा पुगेको बताएको छ। बिहीबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेपाली काँग्रेस काठमाडौं जिल्ला सचिव तथा १४ औं महाधिवेशन प्रचारप्रसार मञ्च व्यवस्थापन समिति संयोजक गोविन्द पुडासैनीले १४औँ महाधिवेशनको लागि उद्घाटन लगायतका कामहरुको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन्।
महाधिवेशन तयारीको काम ९० प्रतिशत सकिएको र बाँकी १० प्रतिशत काम आज राती १० बजेसम्मका सकिने बताए। संयोजक पुडासैनीले प्रदेशको अधिवेशन सम्पन्न गरेपछि केन्द्रिय अधिवेशनतर्फ लाग्नुपरेको कारण काम केही ढिला भएको बताए। उनले मञ्च तीन चरणमा बनाइएको र पहिलो, दोस्रो र तेस्रो चरणमा क्रमशः कलाकार, विभिन्न पार्टीको शीर्ष नेता र पार्टीका केन्द्रिय सदस्य रहने व्यवस्था गरिएको बताए।
‘अब हामी लगभग लगभग तयारीको अन्तिम स्थितिमा पुगेका छौँ। हाम्रो ९० प्रतिशत काम सकिएको छ। हामी बेलुका १० बजेसम्म प्रचारप्रसार लगायत सम्पूर्ण तयारी सम्पन्न गर्नेछौँ। प्रदेशको अधिवेशन सम्पन्न गरेपछि केन्द्रिय अधिवेशनतर्फ लाग्नुपर्ने भएको कारणले ढिला भएको हो,' उनले भने, 'मञ्च तीन स्टेपमा छ। पहिलोमा सांस्कृतिक संघको कार्यक्रम हुन्छ। जहाँ ४० जना कलाकारले एकैसाथ प्रश्तुत गर्ने गरी व्यवस्था गरेका छौँ। दोस्रो चरणमा पार्टीका शीर्ष नेताहरु, अन्य पार्टीका शीर्ष नेताहरु, विदेशी पाहुनाहरुलाई दोस्रो रोमा राख्नेछौँ। तेस्रोमा पार्टीका केन्द्रिय सदस्य लगायत अन्य अतिथिहरुलाई राख्नेछौँ।'
सर्वसाधारणलाई अफ्ठ्यारो नपरोस् भनेर प्रदर्शनी मार्गको सडकलाई मात्रै व्यवस्थित तरिकाले नियन्त्रणमा राखिने उनको भनाइ छ। करिब साढे ३ लाखदेखि ४ लाख मानिस सहभागी हुने उनको दाबी छ।
संयोजक पुडासैनीले प्रदर्शनी मार्गमा मात्र पार्टीको काम भएकोले अन्य सडकमा सर्वसाधारणहरुलाई ट्राफिक जाम भएर समस्या नपर्ने उनको भनाइ छ। नेपाली काँग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन मंसिर २४ गते शुक्रबारबाट २७ गतेसम्म हुँदैछ।