काठमाडौं- नेपाली कांग्रेसभित्र एउटै खेमा भए पनि जिल्लादेखि प्रदेशसम्म आ-आफ्नै गुट चलाइरहेका छन् केन्द्रीय सदस्यद्वय एनपी साउद र रमेश लेखक। वडा, पालिकादेखि जिल्लासम्म यी दुईबीच यति अन्तर्द्वन्द्व छ कि जसले गर्दा जिल्ला सभापतिमा आ-आफ्नै उम्मेदवार भिडाए।
जिल्ला सभापतिमा एनपी खेमा छाडेर रमेश खेमामा लागेका पदम बोगटी निर्वाचित भए। एनपीका सारथी संविधानसभा सदस्य बहादुरसिंह थापा पराजित भए। पार्टीको प्रदेश कार्यसमितिमा पनि यी दुई नेताबीच चर्को गुट देखियो। जसकारण सभापति शेरबहादुर देउवाको आग्रहमा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायर साझा उम्मेदवारका रूपमा प्रदेशमा झर्नुपर्यो। उनी प्रदेश सभापति बने।
वडादेखि प्रदेश कार्यसमितिसम्म देखिएको साउद र लेखकको गुटगत तिक्तता, प्रतिस्पर्धा केन्द्रीय महाधिवेशनमा भने मत्थर भएको देखिएको छ। बिहीबारको केन्द्रीय कार्यसमिति बैठकपछि दुवै नेता भलाकुसारी गरिरहेको भेटिए।
बैठकपछि बाहिर निस्किने क्रममा तेस्रो तलामा एनपीले रमेशलाई बोलाउँदै भने, 'अहिले ४ बजे बैठक बस्ने भनेका छौँ। त्यहाँ आउनुहोला,' जवाफमा रमेशले हुन्छ भन्ने प्रतिक्रिया दिएका छन्।
प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमबाट बनाउनुपर्ने केन्द्रीय सदस्यको नामावली टुंगो लगाउन एनपीलाई निर्देशन दिएका थिए। आफ्नो टिममा केन्द्रीय सदस्यका उम्मेदवार टुंग्याउन देउवाले एनपीलाई नेताहरूसँग छलफल गर्न दिएको निर्देशनअनुसार एनपीले रमेशलाई आग्रह गरेका हुन्। उक्त आग्रहलाई लेखकले सकारात्मक रूपमा लिएका छन्। अहिले एनपी, रमेश, प्रदेश अध्यक्ष वीरबहादुर बलायरलगायत नेताहरु प्रदेशबाट केन्द्रीय सदस्य छान्न बसिरहेको स्रोतले जानकारी दिएको छ।