काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आईजीपी (प्रहरी महानिरिक्षक) नियुक्ति कुनै राजा वा प्रधानन्यायाधीशले गर्ने पक्षमा नरहेको भन्दै आईजीपी प्रकरणमा आफू सही ठाउँमा भएको दाबी दोहोर्याएका छन्।
कांग्रेसका पुराना नेताहरुसँग राजधानीमा आयोजित छलफल कार्यक्रममा सभापति देउवाले आईजीपी नियुक्ति सरकारले नै गर्न पाउनु पर्छ भन्ने पक्षमा लाग्दा कुनै व्यक्तिको पछि नभएर लोकतान्त्रिक सिद्धान्तकै पक्षमा उभिएको दाबी गरे।
‘तत्कालिन मुख्य सचिव र आईजीपी उपेन्द्रकान्त अर्यालले नम्वर दिँदा एउटा व्यक्तिको नम्वर बढी देखिन्छ तर अदालतले अर्कै हो भन्छ’देउवाले भने ‘ति मान्छे अझै जिउँदै भएकोले सोधे हुन्छ।' उनले आईजीपीको नियुक्ति सरकारले नै गर्न पाउने पक्षमै आफूहरु लडेको बताए।
पार्टीले चुनाव हारेको बास्तविक हो
देउवाले स्थानीय, प्रदेश र संसदीय निर्वाचनमा पार्टीले हारेको पहिलो पटक सार्वजनिक रुपमा स्वीकारे। विगतमा ‘पार्टीले नहारेको, व्यक्तिले हारेको, समानुपातिकमा जितेको र दुई कम्युनिष्ट मिलेका कारण मात्र थोरै सिट आएको’ वताउँदै आएका थिए।
देउवाले २०७४ मा मात्र नभएर पार्टीले ०५१ र ०६४ मा चुनाव हारेको दृष्टान्त प्रस्तुत गरे। ‘यो पटक पार्टीले चुनाव हारेको वास्तविकतालाई ढाकछोप गरेर हुँदैन’ देउवाले भने ‘यो पटक चुनाव हार्नुको कारण अन्तरघात, टिकट वितरणमा भएको गल्ती पनि हो।’
उनले एक जनाले मात्र टिकट पाउने भएकाले टिकट नपाउनेले टिकट पाउनेलाई हराउँदै जाने, भोट नहाल्ने, अन्तरघात गर्ने हो भने पार्टी झन कमजोर हुने बताए। उनले स्थानीय तहका उम्मेदवारको चयन जिल्लाले नगरी केन्द्रलाई जिम्मेवारी हुँदा कमजोरी भएको स्वीकारे।
‘केन्द्रमा बस्ने हामीले मान्छे पनि सबै चिन्दैनौं, कसले जित्छ पनि थाहा हुँदैन’ देउवाले भने ‘आफ्नै पार्टीका उम्मेदवारलाई हराउन सूर्यमा भोट हाल्नेले पार्टीलाई हराएका हुन्। टिकट बाँड्न बस्नेहरुले चुनाव हारेको गुनासो गर्न मिल्दैन।’
देउवा किन झ्वाँकिए गौतमसँग ?
कांग्रेस सभापति देउवा कांग्रेसका पुराना नेता तथा आफ्नै सहपाठी दामोदर गौतमसँग झ्वाँक्किएका छन्। देउवाले बोल्दै आईजीपी प्रकरणमा आफू सही ठाउँमा रहेको र अदालतले अनावश्यक हस्तक्षेप गरेको भनेर प्रष्टिकरण दिइरहँदा कार्यक्रमस्थलको अघिल्लो लहरमा बसेका गौतमले प्रश्न गर्दा देउवा झोंक्किएका हुन्।
गौतमले ‘आईजीपी प्रकरणमा यस्ता घटनाको बारेमा त्यसबेला चाहीँ किन नबोलेको नि ?’ भनेर प्रश्न गर्दा देउवा ‘बोलिरहेको छु त, कति बोल्ने ? त्यही भन्दै आएको छु त।’
देउवालाई प्रतिप्रश्न गर्ने लोकेश ढकाललाई पनि देउवाले ‘यस्तो हुन्छ, हैट’ भनेर झर्किएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४