काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुरु हुन २४ घण्टाभन्दा कम समय बाँकी रहँदासमेत संस्थापन इतर समूहले साझा उम्मेदवार चयन गर्न सकेको छैन। १४ औं महाधिवेशनबाट सभापतिमा देउवालाई आउनबाट रोक्न संस्थापन इतर समूहका सबै नेताहरु तयार देखिए पनि अस्तित्वको लडाइँका कारण एकले अर्कोलाई स्वटीकार गर्न सक्ने ठाउँ साँघुरिँदै गएको देखिन्छ।
सोमबारदेखि साझा उम्मेदवार छान्नका लागि संस्थापन इतर समूहका नेताहरु निरन्तर छलफलमा छन्। सोमबार संस्थापन इतर समूहका १२ जना युवा नेताहरुले सभापतिमा दाबी गरिरहेका चारै जना रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालालाई मंसिर २३ सम्मको अल्टिमेटम दिएका थिए। उक्त अल्टिमेटम आज सकिँदै छ। जति समय घर्किँदै गएको छ, त्यति समस्या समाधान हुनेभन्दा पनि बल्झिने अवस्था सिर्जना हुँदै गएको देखिन्छ।
मंगलबारको बैठकमा सभापतिका उम्मेदवार शशांक कोइरालाले 'ब्याक' हुने बताएका थिए। उनले भनेका थिए, 'रामचन्द्र दाइका लागि मैले सभापतिको दाबी छाडेँ।' शशांकले आफू ब्याक भएको बताएपछि सहमतिका लागि रामचन्द्रले पनि अडान राखेनन् र लचिलो बने। 'रामचन्द्र दाइलाई यो टिम भत्किन्छ कि भन्ने चिन्ता बढी छ,’ उनी निकट एक केन्द्रीय सदस्यले भने। सभापतिमा दाबी गरिरहेका प्रकाशमान सिंह र शेखर कोइरालाको अडानका कारण समस्या थप बल्झिएको हो।
बुधबार बिहान बोलाइएको बैठकमा सभापतिका दाबेदारहरु नै अनुपस्थित भएपछि बुधबार दिउँसो चाक्सीबारीमा फेरि बैठक बसेको थियो। वरिष्ठ नेता पौडेलले बुधबार पार्टीमा तेस्रो धारको नेतृत्व गरिरहेका कृष्णप्रसाद सिटौलासँग पनि भेट गरेका थिए। तर, सिटौलासँगको भेटमा कुनै उपलब्धि हुन नसकेपछि चाक्सीबारी बैठकमा पौडेलले भावुक बने। प्रकाशमान र शेखरलाई संकेत गर्दै उनले भने, 'आपसमा सहमति गर्न नसक्ने र मलाई पनि नेतृत्वमा स्वीकार नगर्ने हो भने म पार्टीबाटै अलग हु्न्छु, तपाईंहरु चलाउनुस्।'
पौडेललाई टिम भत्किन्छ भन्ने चिन्ता छ। टिमलाई एक ढिक्का राख्नका लागि आफू छोड्नसमेत तयार भएका पौडेलले आफूनिकट केन्द्रीय सदस्य, प्रदेशमा जितेका सभापति र उम्मेदवार, जिल्ला सभापति, निवर्तमान जिल्ला सभापति र केही महाधिवेशन प्रतिनिधिहरूसँग पनि राय लिएका छन्, तर पार लाग्न सकेको छैन।
बुधबार जिल्ला सभापतिहरू त विवादमा आउन चाहेनन्। उनीहरुले आफूहरुलाई विवादमा नतान्न र शीर्ष नेतृत्वले नै छनोट गरेको व्यक्तिलाई आफूहरु मान्न तयार भएको प्रतिक्रिया दिए। बुधबार नै १२ जना युवा नेताहरु मीनेन्द्र रिजाल, चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गुरूराज घिमिरेलगायतले नेतृत्व साझा उम्मेदवार छान्न असफल भएमा आफूहरुले छनोट गरेको व्यक्तिलाई मान्नुपर्ने भन्दै सभापतिका आकांक्षीहरुलाई दबाब दिए।
उनीहरुले बुधबार नै छुट्टै छलफल पनि गरे। प्रकाशमान र शेखरबीच कुरा नमिलेको अवस्थामा आफूहरुले हस्तक्षेप गर्ने युवा केन्द्रीय सदस्यहरुले बताएका थिए। तर, यसरी नाम किटान गरेर दिँदा पनि स्वीकार नगरेमा थप समस्या बल्झिनसक्ने भन्दै १२ युवा नेताहरु हस्तक्षेप गर्न डराएका हुन्।
एकजना युवा केन्द्रीय सदस्यले भने, 'हामी आफैं पनि उम्मेदवार हो। भोलि हामीले पनि कुनै एकजनासँग टिमभित्रै रहेर प्रतिस्पर्धा गर्नुपर्ने छ। कुनै एकजनाको नाम हामीले किटान गरेर दिँदा अर्को असन्तुष्ट बनेर संस्थापन पक्षतर्फ गयो भने पनि हामी कमजोर हुन्छौं र देउवालाई पराजित गर्ने योजना थप कमजोर पर्न जान्छ। त्यसैले कसरी अघि बढ्न सकिन्छ भन्ने सम्भावनाका विषयमा हामी अझै पनि छलफलमै छौं।' रक्षामन्त्रीसमेत रहेका मीनेन्द्र रिजालले आफूहरुले जसरी पनि साझा उम्मेदवार छान्ने दाबी गरे।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुरु हुन २४ घण्टाभन्दा कम समय बाँकी रहँदासमेत संस्थापन इतर समूहले साझा उम्मेदवार चयन गर्न सकेको छैन।
प्रकाशमान र शेखरबीच एकअर्कालाई छाड्ने विषयमा टसमस नहुँदा बिहीबार साँझ सिंह निवास चाक्सीबारीमा चर्काचर्कीसमेत भएको थियो। रिजालले भने, 'हिजोको चाक्सीबारीको तिक्ततापछि झनै साझा उम्मेदवार बनाउनुपर्छ भन्ने हामीहरुले अठोट लिएका छौं। हामी हाम्रो समूहबाट साझा उम्मेदवार बनाएरै छाड्छौं।'
सभापतिका दाबेदार प्रकाशमानले यसपटक आफू जसरी पनि सभापति हुने अडान राखिरहेका छन्। सिंहदरबारअगाडि यलम्बर पार्टी प्यालेस नै भाडामा लिएर सम्पर्क कार्यालय खोलेका सिंहले ब्याक नहुने देखेपछि शेखर बिहीबार बिहान पौडेललाई फकाउन बोहराटार पुगेका थिए।
प्रकाशमान सिंहले सभापति पदको दाबेदारी नछाडेको अवस्थामा आफूलाई सहयोग गर्न शेखरले पौडेलसमक्ष आग्रह गरेका थिए। उनको भनाइ उद्धृत गर्दै एक नेताले भने, 'प्रकाशमान सिंहले छाडे म तपाईंलाई छाड्दिन्छु, उहाँले छाड्नु भएन मलाई सहयोग गर्नुहोस्।'
उनीहरूलाई एक ठाउँमा उभ्याउन युवा नेताहरु लागिरहेकै छन्। दुबै नेताहरुमा सहमति हुन नसकेपछि सुशील कोइरालापछि पौडेलकै छातामुनि बसेर कामहरु गरिरहेका कारण पौडेलकै नाममा भए पनि सहमति गर्नुपर्ने युवाहरुको दबाब छ। 'दुबैजना (प्रकाशमान र शेखर) टसमस नभएपछि वरिष्ठ नेता पौडेलकै नाममा भए पनि सहमति गरेर जानुपर्छ भन्ने विषयमा पनि हामी छलफल गरिरहेका छौं,' १२ भाइको समूहमा रहेका ती नेताले नेपाल समयसँग भने, 'शेखरजी त तयार नै भइसक्नु भएको छ। प्रकाशमानको कुरा हो, उहाँले छोड्नेबित्तिकै पौडेलको नाममा सहमति हुन्छ। यो गर्न सकेनौं र हाम्रो समूहबाट एकभन्दा बढी उम्मेदवार हुनेवित्तिकै देउवालाई सर्लक्कै सभापति सुम्पिदिए हुन्छ।’