काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनमा कांग्रेस नेता मीन विश्वकर्माले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर विश्वकर्माले दलित कोटाबाट सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन्।
सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिने उनले जानकारी दिए। स्वदेश र विदेशमा रहेका युवाहरुलाई दोहोरो नागरिकता हुनुपर्ने आफ्नो मुद्दा भएको उनले बताए। त्यस्तै उनले समग्र देशको हितको लागि नेपाली कांगेसका सभापति शेरबहादुर देउवालाई जिताउनुपर्ने अहिलेको आवश्यकता रहेको पनि तर्क गरे।
कार्यक्रममा कांग्रेस नेतृ लक्ष्मी परियारले नेपाली कांग्रेस पुरानो र समावेशी पार्टी भएको उल्लेख गर्दै यसपटक पार्टी सभापति शेरबहादुर देउवाको प्यानलबाट आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताइन्।
नेपाली कांग्रेसको चौधौं महाधिवेशन यही मंसिर २४ गतेदेखि काठमाडौंमा हुँदैछ।