काठमाडौं- पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालद्वारा लिखित पुस्तक ‘बीपी कोइरालाको आर्थिक विचार’ सार्वजनिक भएको छ। डा. नेपालले पुस्तकमा आफूलाई बिपीले भनेका आर्थिक उन्नतिका तथा आर्थिक सोच र विचारहरु पुस्तकमा उल्लेख गरेका छन्।
पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै पूर्वगभर्नर नेपालले नेपाली काँग्रेसले २०४८ सालयता आर्थिक र प्रजातान्त्रिक दृष्टिकोण दिन नसकेको बताए। विश्वमै ख्याति कमाएका नेता विश्वेश्वरप्रसाद कोईरालाले स्थापना गरेको पार्टीमा कुनै विचार नै नहुनु राम्रो नहुने उनको भनाइ छ। डा. नेपालले बीपीको दूरदृष्टि र स्पष्ट विचार बोकेर हिँडेको पार्टी आज तानाशाही र कम्युनिस्टभन्दा फरक बन्न नसक्नु चिन्ताको विषय भएको बताएका थिए।
‘म बाध्य किन भएँ भन्दा आजभन्दा ४ वर्षअघि ७० वर्ष गर्यो वृद्धभत्ता एमालेको सरकाले । त्यसपछि नेपाली कांग्रेसको सरकारले ६४ बनायो। मैले गएर भनेँ पनि। त्यति बेला अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की हुनुहुन्थ्यो,' पुस्तक सार्वजनिक कार्यक्रममा उनले भने, 'के गरेको यो? हामी स्पष्ट कहाँ छैनौँ? यो स्थिति ४८ सालदेखि छ। हामी किन स्पष्ट भएनौँ? हामी कसरी फरक त? जब एमालेले गर्यो भनेर त्यसकै पछाडि लाग्ने? काँग्रेसको एक जमात पनि त्यसले राम्रो गरेको छ भन्ने, फेरि कांग्रेस पनि त्यसले गरेको कुरा फलो गर्दै जाने? के अर्थ छ यसको? हामी कसरी फरक? नेपाली काँग्रेस के हो?'
उनले थपे, 'आर्थिक र प्रजातान्त्रिक दृष्टिकोणमा कसरी फरक भनेर हिजोको दिनमा विश्वेश्वरप्रसाद कोईरालाले त्यसरी स्पष्ट देखाएर हिँडेको पार्टी आज हामी कम्युनिस्ट भन्दा पनि फरक हुन सकेनौँ। तानाशाही भन्दा पनि फरक हुन सकेनौँ। झनै फलो गर्दै उनीहरुको काम गर्दै गयौँ। पार्टीमा नयाँ जेनेरेशन आउँदैछ, यसले ठूलो अन्याय हुन्छ । विश्वमै चर्चित सोच भएर ख्याति कमाएको मानिसले सिर्जना गरेको पार्टीमा अहिले विचारै छैन। न आर्थिक विचार छ, न प्रजातान्त्रिक विचार।’
कार्यक्रममा उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले आफ्नै खुट्टामा उभिनसक्ने स्वाबलम्बी कार्यकर्ता नभएसम्म सही नेता नजन्मिने बताए। बिपीका कुराहरु अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए। सांसद चौधरीले राजनीति पेशा नभई सेवा गर्ने माध्यम हो भन्ने बीपीको भनाइ आज पनि उत्तिकै सान्दर्भिक भएको बताए।
‘विश्वले चिनेको त्यो स्केलको राजनीतिज्ञ नेपालमा कहिल्यै पनि जन्मिएन। भविष्यको बारेमा भन्न कठीन छ। उनले भनेका के कुरामा मलाई अझ पनि सान्दर्भिकता लाग्छ भने राजनीतिक भनेको प्रोफेसन होइन। राजनीति भनेको सेवा गर्ने माध्यम हो,' आफ्नै खुट्टामा उभिएको राजनीतिक कार्यकर्ता जसलाई उसको प्रचारको लागि २ लिटर तेल मोटरसाइकलमा हाल्नु नपरोस्। जबसम्म ती प्रकारको कार्यकर्ताहरु जन्मिदैनन् तबसम्म ती कार्यकर्ताहरुले सही नेताहरु जन्माउँदैनन्। यो एउटा समस्या आजसम्म पनि विद्यमान छ।’
सांसद चौधरीले बीपीजस्तो दूरदर्शी नेता नेपालमा अहिलेसम्म पनि जन्मिन नसकेको बताएका थिए।