जनकपुरधाम- तराई मधेशका जिल्लाहरूमा बिहेबारी रातिको समयमा गरिने पुरानो परम्परा छ । बिहेमा सहभागी हुन जन्ती पनि ठूलै संख्यामा आउँछन् । जन्तीहरूलाई रात्रिकालीन विश्राम गराउन सामूदायिक विद्यालयहरू सहज स्थान बन्दै गएका छन् ।
१४ असारमा कनकनपट्टीको राष्ट्रिय प्राथमिक विद्यालयमा शिक्षक/विद्यार्थीको नभई जन्तीको भीड थियो । लक्ष्मीनियाको जनता मावि त बिहेको सिजनमा सधैं व्यस्त रहन्छ । बहुअर्बाको जनता मावि पुग्दा पनि पठन-पाठन ठप्प थियो, जन्तीको सत्कारमा जुटेका थिए गाउँले । धनुषाको ग्रामीण भेगका अधिकांश सामूदायिक विद्यालयको पठन-पाठन बिहेको सिजनमा त्यसरी नै अस्तव्यस्त रहने गरेको छ ।
बालबालिकाको पठन-पाठन नै प्रभावित हुने गरी सामूदायिक विद्यालयहरू सामाजिक कार्यमा प्रयोग भइरहे पनि सरोकारवाला निकायहरूले केही गर्न सकेका छैनन् ।
विद्यालयहरूमा नियमित पठन-पाठन गराउनुपर्ने आवाज उठिरहेका बेला खासगरी ग्रामीण भेगका अधिकांश सामूदायिक विद्यालय सामाजिक अखाडाका रूपमा प्रयोग भइरहेका छन् । विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिए पनि गाउँघरका केही राजनीतिक अगुवा तथा विद्यालयका प्रधानाध्यापकसमेतले सामाजिक गतिविधिका रूपमा प्रयोग गर्न शैक्षिक संस्थालाई सरल गन्तव्य बनाएका छन् ।
बिहेबारीमा जन्तीको वासस्थलका रूपमा प्रयोग गरिनु, राजनीतिक कार्यक्रमको आयोजना, अन्तिम संस्कारको भोजभतेर गरिनु तराई मधेशका सामूदायिक विद्यालयहरूमा सहज प्रक्रिया बनेको छ । विद्यालय स्थानीय तहअन्तर्गत् आइसक्दासमेत निर्वाचित जनप्रतिनिधिहरूले यस्ता गतिविधिमाथि रोक लगाउन सकेका छैनन् ।
मुख्य रूपमा विद्यालय जन्ती राख्ने वासस्थलको रूपमा प्रयोग हुन थालेपछि बालबालिकाको पठन-पाठन ज्यादै प्रभावित हुने गरेको पाइएको छ । एक रात जन्ती राख्दा विद्यालयको पठन-पाठन दुई दिनसम्म प्रभावित हुने गर्छ ।
राति पुगेका जन्तीलाई भोलिपल्ट खाना खुवाएर पठाउने रीतिरिवाज छ, तराई मधेशका ग्रामीण भेगमा । जन्ती आउने भएपछि दिउँसै सरसफाइ तथा वासको व्यवस्थामा जुट्नुपर्छ । र, कक्षाकोठाभित्र रहेका सबै डेस्कबेन्च बाहिर निकालिन्छ । यसरी विद्यालय परिसरभित्रै ठूलो संख्यामा बस्ने गरेका जन्तीका कारण बालबालिकाको पठन-पाठन प्रभावित हुने गरेको धनुषाको लक्ष्मीनिया गाउँपालिकास्थित एक विद्यालयका शिक्षकले बताए ।
कतिपय स्थानमा जन्ती राखेवापत शुल्क असुल गर्न विद्यालय व्यवस्थापन समितिले निर्णय नै गरेका छन् । एक विद्यालयकी प्रधानाध्यापकले भनिन्, 'तत्कालीन व्यवस्थापन समितिको निर्णयअनुसार विद्यालयमा जन्ती राख्न दिएका छौं, एउटा बिहेको जन्ती बस्न तीन सय रुपैयाँ लिँदै आएका छौं ।'
गरिब परिवारले शुल्क बुझाए पनि हुनेखानेले शुल्क बुझाउन अटेर गर्ने गरेको उनको भनाइ छ । बिहेबारीको समयमा १०/१५ दिन विद्यालयमा जन्ती बस्ने गरेको उनले बताइन् ।
ग्रामीण भेगमा होटेल, धर्मशाला तथा सार्वजनिक हलको व्यवस्था नहुँदा आफूहरूले विद्यालयलाई जन्ती राख्ने वासस्थल बनाउनुपरेको लक्ष्मीनियाँ गाउँपालिकाका झगरु मण्डलले बताए । जन्ती वास बस्दा पठन-पाठन प्रभावित हुने जानकारी भए पनि अन्य विकल्प नहुँदा विद्यालयलाई नै सार्वजनिकस्थलको रूपमा प्रयोग गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी गोविन्द पराजुलीले त्यसरी विद्यालयमा जन्ती राख्न नपाइने बताए । 'प्राकृतिक प्रकोपका बेलामा राख्नुसम्म हो । अन्य कार्यक्रम गर्न पाइन्न,' प्रजिअ पराजुलीले भने, 'अहिलेसम्म मलाई रिपोर्टिङ भएको छैन । तत्काल त्यस्ता काम रोक्न मातहतका निकायलाई निर्देशन दिनेछु ।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४